Indrenionline.com

संमृद्धिका लागि लगानीमैत्री वातावरण : अध्यक्ष राना

इन्द्रेणी संवाददाता
दाङ, ९ चैत । नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय अध्यक्ष भवानी रानाले मुलुकको आर्थिक संमृद्धिका लागि सरकारले लगानी मैत्री वातावरण आवश्यक रहेको बताएकी छन् ।

शनिवार दाङ जिल्ला उद्योग वाणिज्य संघको १४ औं वार्षिक साधारणसभा एवं ४९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष रानाले यस्तो बताएकी हुन् ।

राज्यका पुराना ऐन व्यवसाय सञ्चालनका लागि झण्जटिला भएको र बैंकको व्याजदर चर्काे भएकाले व्यवसायीहरु मर्कामा परेको भन्दै उनले यस्ता झण्जटिला एने परिमार्जन गर्न आवश्यक रहेको बताइन् । चर्काे व्याजदरका कारण व्यवसायीहरुले आफ्नो लगानी विस्तार गर्न नसकेको भन्दै यो एउटा नीजि क्षेत्रको चुनौती मात्रै नभइ नेपालको संमृद्धिका लागि समेत चुनौती भएको उनको भनाइ थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । पत्रकारिताको माध्यमबाट यहाँको आर्थिक संमृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार गोविन्द खड्कालाई पुरस्कृत एवं सम्मान गरिएको थियो ।

संघका उपाध्यक्ष वसन्त जोशीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिले आफ्ना विचार राखेका थिए । कार्यक्रमको सहजीकरण महासचिव नरेश कार्कीले गरेका थिए ।