इन्द्रेणी संवाददाता
दाङ, २८ फागुन । कृषि क्षेत्रको विकासबाट मुलुकलाई संमृद्धितर्फ लैजान सकिने भन्दै आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउन सरोकारवालाहरुले नेपाल सरकारलाई सुझाव दिएका छन् ।
‘कृषिको क्षेत्रमा सरकारी अनुदान धेरै आए तर त्यो वास्तविक किसानले होइन गैर किसानहरुको हातमा पर्ने गरेको छ’, दाङ सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले भने, ‘हामीलाई अब अनुदान होइन सहुलेत ्रव्याजदरमा र सहजरुपमा प्राप्त गर्ने गरी ऋण दिए पुग्छ ।’
कार्यक्रममा दाङ जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले दाङ कृषि, पर्यटन र उद्योगिक क्षेत्रका लागि सम्भावित जिल्ला भएकाले यी क्षेत्रलाई लक्षित गरेर सरकारको बजेट आउन आवश्यकता औल्याए । दाङमा मौरीपालन, मकै, धान, गहुँ, तोरी र व्यवसायिक तरकारी खेतीको सम्भावना हुँदाहुँदै पनि यी व्यवसायलाई पूर्णरुपमा व्यवसायिकरण गर्न नसकिएको उनको भनाइ छ ।
बैंकिङ क्षेत्रको तर्फबाट कृषि विकास बैंक क्षेत्रीय कार्यालय दाङका प्रमुख गणेश डिसीले कृषि विकास बैंकले यस क्षेत्रका पाँच जिल्लामा गरी कृषि क्षेत्रमा करीव २० करोड रुपैयाँ लगानी गरेको जानकारी दिए । बैंकले कुल लगानीको ३५ प्रतिशत कृषि क्षेत्रमै लगानी गरेको बताउदै कतिपय समयमा सरकारकै नीति अनुसार यस क्षेत्रमा लगानी गर्दा पनि बैंक घाटामा जाने गरेको उनको गुनासो थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक केन्दीय कार्यालय अनुसन्धान विभागका निर्देशक डा. डिल्लीराम पोख्रेलले सरकारले बजेट ल्याउनु अघि राष्ट्र बैंकले विभिन्न जिल्लामा गएर सुझाव संकलन तथा अन्तक्र्रियात्मक कार्यक्रम गर्ने र सोही अनुसार प्रतिवेदन बनाएर सरकारलाई बुझाउन प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक केन्दीय कार्यालय अनुसन्धान विभागका उपनिर्देशक विन्ती श्रेष्ठ, विभाग नेपालगञ्जका निर्देशक शिवप्रसाद घिमिरे, विभिन्न वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, घोराही उपमहानगरपालिकाका प्रतिनिधि, पशु कार्यालय, तथा व्यवसायीहरुले आफ्ना विचार राखेका थिए ।