शालिकराम मुसाफिर
लक्ष्मीपुर, २६ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लक्ष्मीपुर दाङको आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शुक्रबार लक्ष्मीपुरमा सम्पन्न भयोे । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजित उक्त प्रतियोगिता फागुन १९ गतेदेखि शुरु भएको थियो ।
युवा तथा खेलकुद उपसमितिका संयोजक जनक बहादुर चौधरीको अध्यक्षता तथा तुलसीपुर १६ का वडा अध्यक्ष भूप बहादुर के.सी.को प्रमुख आतित्थ्यतामा सम्पन्न पुरस्कार वितरण तथा समापन समारोहमा वडा सचिव राजेन्द्र केसी, नेकपाका नेता शिवानन्द डाँगी, लक्ष्मी आधारभूत विद्यालयका प्र.अ. तेज बहादुर वस्नेत, गणेश टोल विकास संस्थाका अध्यक्ष पदम केसी, पिपल चौतारी टोल विकास संस्थाका अध्यक्ष यज्ञमूर्ति गौतम, टिक्रा लहलौरा टोल विकास संस्थाका अध्यक्ष गोपाल चौधरी, आनन्द नगर टोल विकास संस्थाका अध्यक्ष घनश्याम बस्नेत, पिपल चौतारी टोल विकास संस्थाका फुटवल समूहका टोली नेता सन्तोष चौधरी लगायतका वक्ताहरुले यस्ता खाले खेलकुद प्रतियोगीता वर्षेनी आयोजना गर्नुपर्ने सुझाव दिदै खेलकुद विकासमा वडा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने धारणा राखेका थिए ।
वडा स्तरमा सक्षम फुटवल समूह निमार्ण गर्न सहभागी सबै समूहबाट उत्कृष्ट ६५ जना खेलाडी छनौटमा परेका छन् । छनौटमा परेका खेलाडीहरुलाई तालिम प्रदान गरी ती मध्येबाट छनौट गरी एक ओटा राम्रो फुटबल समूह निर्माण गरिने युवा तथा खेलकुद उपसमितिका संयोजक जनक बहादुर चौधरीले जानकारी दिए । युवा तथा खेलकुद उपसमितिका सदस्य सुवास बस्नेतले सञ्चालन गरेको सो कार्यक्रममा एन्फा मनिष बाबु पाण्डे, प्रकाश वि.क., सुवोध चौधरी र विनोद चौधरीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।