तुलसीपुर, २६ फागुन । तुलसीपुर उपमहानगरपालिका अन्तर्गत कक्षा ८ को नगरस्तरीय परीक्षाको तयारी पुरा भएको छ । शिक्षा महाशाखा तुलसीपुरले कार्यक्रमको आयोजना गरेर परीक्षाको तयारी पुरा भएको जानकारी गराएको हो ।
चैत्र १ गतेबाट हुने परीक्षामा तुलसीपुर उपमहानगरपालिका भित्र रहेको ८५ विद्यालयका ३ हजार ९ सय ९२ विद्यार्थीहरु सहभागी हुने परीक्षा समितिका सदस्य सचिव मुकुन्द रिजालले जानकारी दिए । उनले विद्यार्थीलाई पाएक पर्ने गरी केन्द्र निर्धारण गरिएको समेत बताए।
यसैविच शिक्षा महाशाखाले नगरस्तरीय परीक्षाको सन्दर्भ पारेर केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परिवेक्षक, जनप्रतिनिधि कार्यपालिका सदस्यका विचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमको अध्यक्षता एवम् प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा परीक्षालाई मर्यादित र अनुशासित वनाउनका लागि सबैले भुमिका खेल्नुपर्ने बताए । त्यस्तै नगरप्रवक्ता सुर्यवहादर डाँगीले विद्यार्थीहरुलाई भयरहित वातावरणमा परीक्षा गर्न सक्ने वातावरण तय गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यसैगरी शिक्षा समिति संयोजक देवराज विकले अनुगमनलाई प्रभावकारी वनाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै होम सेन्टरको अवधारणालाई यसपटकबाट अन्त्य गरिएको बताए । कार्यक्रमको सहजिकरण परीक्षा समितिका सदस्य सचिव मुकुन्द रिजालले गराएका थिए ।