Indrenionline.com

पत्रकारितामा उच्छृंखलता चुनौतीपूर्ण : कार्यवहाक अध्यक्ष श्रेष्ठ

इन्द्रेणी संवाददाता
दाङ, १७ फागुन । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले पछिल्लो समयमा नेपाली पत्रकारितामा उच्छृंखलता बढ्दै गएको बताए । प्रेस काउन्सिल नेपालको आयोजनामा आज दाङको घोराहीमा सम्पन्न साहित्यिक पत्रकारिता गोष्ठी तथा आचारसंहिता संवाद कार्यक्रममा बोल्दै उनले नेपाली पत्रकारितामा देखिएको उच्छृंखलता र अराजगकताप्रति चिन्ता व्यक्त गर्दै पत्रकारहरुलाई पत्रकारिताको आचारसंहिताभित्र रहेर काम गर्न आग्रह गरे ।

विभिन्न समयमा विभिन्न सामाजिक सञ्जालहरुमा आएको उच्छृंखलपूर्ण टिप्पनी र स्टाटसलाई आफ्नो सम्बोधनमा वाचन गर्दै कार्यवहाक अध्यक्ष श्रेष्ठले यस्तो गैरकानुनी कार्य गर्न कसैलाई पनि छुट नभएको बताए । उनले एउटा कुनै एक जनाको स्वार्थ पूरा गर्नका लागि प्रेस काउन्सिल नेपालले आम स्वतन्त्र पत्रकारहरु स्वतन्त्रता र अधिकारमाथि आँच आउन नदिने र यस्ता गतिविधिप्रति काउन्सिल कडा प्रतिवाद गर्ने समेत उनले बताए ।

कार्यक्रमको विषयवस्तु साहित्यिक पत्रकारिताका बारेमा बोल्दै उनले साहित्यिक पत्रकारिता नै नेपालको पत्रकारिताको प्रारम्भ भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले अझै पनि समाजिमा साहित्यिक पत्रकारितालाई पत्रकारिताको रुपमा स्वीकार्ने वातावरण सृजना नभएको उल्लेख गर्दै नेपाललाई यहाँसम्म ल्याउनका लागि साहित्यिक पत्रकारिताको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुक संघीयतामा गए पनि नेपाली पत्रकारहरुले संघीय संरचनाको अनुभू ितगर्न नपाएको बताए । ‘मुलुक संघीयतामा भएको छ, सिंगदरवार गाउँगाउँमा गएको भनिएको छ तर हामी पत्रकारहरुले यसको अनुभूति समेत गर्न पाएका छैनौं, सञ्चार क्षेत्रमा संघीयता आएको छैन’, उनले भने ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष नगेन्द्रराज शर्मा, वरिष्ठ सौन्दर्यशास्त्री निनु चापागाइ, रोचक घिमिरे, गंगा सुवेदीलगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए । सो अवसरमा विषयवस्तुको प्रवेश प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझाले गराएका थिए ।