Indrenionline.com

राप्तीका बजारमा बजाजको बढ्दो कृज

दाङ, ९ फागुन । दाङलगायत राप्ती अञ्चलका जिल्लामा बजाज मोटरसाइकलको माग बढेको छ । विशेष गरी युवा पिँढीले यस कम्पनीका मोटरसाइकल मन पराउने गरेका छन् ।

विभिन्न मोडलमा रहेका बजाजका मोटरसाइकलको लुक्स र यसको फास्ट पीकअप आदिका कारण सेवाग्राहीको बजाजप्रति आकर्षण बढेको दाङ, घोराहीस्थित बजाजको आधिकारिक विक्रेता राप्ती अटो इन्जिनियरिङका प्रोपराइटर वलदेव योगीले बताए । ‘दाङलगायत राप्तीका जिल्लामा अहिले बजाजमै आकर्षण छ,’ उनले भने ।

दाङलगायत राप्ती अञ्चलका जिल्लामा ६० प्रतिशत मार्केट बजाज मोटरसाइकलकै रहेको छ । ६० प्रतिशतमध्ये सबैभन्दा बढी १५० सीसीको मोटरसाइकल बढी विक्री हुने गरेको योगीले बताए ।

दाङ, सल्यान, रोल्पा, रुकुम, प्युठानलगायत जिल्लामा विक्री हुने बजाजका मोटरसाइकलमा ६० प्रतिशत १५० सीसी, २० प्रतिशत २२० सीसी र २० प्रतिशत एनएस तथा डिस्कभर मोडलका रहेका छन् ।

१ वर्षको अवधिमा यस क्षेत्रमा करीब ३ हजार बजाज मोटरसाइकल विक्री हुने गरेको योगीले जानकारी दिए । कम्पनीले पनि सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी ३÷३ महीनामा गरी वर्षमा चारपटक एक्सचेन्ज अफर खोल्ने गरेको छ ।

राप्ती अटो इन्जिनियरिङ घोराहीले यही फागुन ५ गतेदेखि शुरू गरेको एक्सचेन्ज अफरमा झन्डै डेढ दर्जन मोटरसाइकल विक्री गरेको छ । अफरमा सबैभन्दा बढी पल्सर १५० सीसी सिंगल डिस्क र डबल डिस्क, त्यसपछि २२० सीसी बढी विक्री भएको बताएको छ । पछिल्लो समयमा बजाज कम्पनीले विभिन्न आकर्षक मोडलमा १०० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।