Indrenionline.com

बिशेषज्ञसहितको स्वास्थ्य शिविर गर्दै रोल्पाली समाज

घोराही, २० माघ । रोल्पाली समाज सेवा दाङले बृहत् बिशेषज्ञ स्वास्थ्य शिविर गर्ने भएको छ । समाजले आगामी माघ २९ र फागुन १ गते रोल्पाको परिवर्तन गाउँपालीकामा बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर गर्ने भएको हो । उक्त शिविरको व्यवस्थापनको जिम्मा परिवर्तन गाउँपालीकाले लिएको छ ।

फोटो फाइल

घोराहीमा बसेको समाजको बैठकले स्वास्थ्य शिविरको तयारीका लागि कार्य विभाजन समेत गरेको छ । स्वास्थ्य शिविरमा बाल रोग विशेषज्ञ, छाला तथा यौन रोग, स्त्री तथा प्रसुती, हाडजोर्नी सहितको विशेषज्ञ सेवा प्रदान गरिने समाजका अध्यक्ष मदन वलीले जानकारी दिए । उनका अनुसार शिविरमा एक हजारभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परिक्षण सहितको सेवा पाउने अपेक्षा गरिएको छ ।

‘ग्रामीण क्षेत्रमा धेरै जनता आर्थिक अभाव तथा चेतनाको अभावमा रोग पालेर बसेका छन्, उनीहरुलाई घर आँगनमै सेवा उपलब्ध गराउने हाम्रो योजना हो,’ वलीले भने, ‘हामी परिवर्तन गाउँपालीका र यस आसपासका सम्पूर्ण सर्वसाधारणलाई स्वास्थ्य शिविरमा सहभागि भएर सेवा लिन आपिल गरेका छौं ।’

समाजको बैठकले क्यान्सरपीडित रोल्पा कोर्चाबाङ घर भई हाल घोराहीमा बसोबास गरिरहेका क्यान्सरपीडित भिमप्रसाद पुनलाई १० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ । बैठकले समाजको प्रेस सल्लाहकारमा पत्रकार पाण्डव शर्मालाई नियुक्त गरेको छ ।