पाँच वर्षमा ५ नम्बर प्रदेश मुलुककै नमुना : मन्त्री केसी
इन्द्रेणी समाचारदाता
उदय बीसी
दाङ, १५ माघ । घोराही उपमहानगरपालिकाले आफ्नो ४१ औं स्थापना दिवस मनाएको छ । आज एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको उद्घाटन प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले गरे । स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र रहेका एक सय वर्ष पूरा गरेका दश जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
त्यस्तै पत्रकारिता क्षेत्रबाट उपमहानगरपालिकाभित्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल पत्रकार महासंघ दाङका सचिव एवं नयाँ पत्रिका दाङ संवाददाता भुपेन्द्र वलीलाई पुरस्कृत गरेको छ । दिवसको अवसरमा उपमहानगरपालिकाका कर्मचारीलगायत अन्य व्यक्तित्वहरुलाई समेत सम्मान गरेको छ ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री केसीले प्रदेश नम्बर ५ लाई पाँच वर्षभित्रमा नमूना बनाउने गरी संमृद्धिका योजनाका साथ अघि वढेको बताए । त्यसका लागि प्रदेश नम्बर ५ मा तीन शहरलाई मेघासिटी बनाउने उनले बताए ।
प्रदेश नम्बर ५ को राजधानी र नामका प्रशंगमा मन्त्री केसीले सबैले दिपावली गर्ने गरी सबैको सहमतिमा सबैको पायक पर्ने स्थानमा राजधानी बनाउने बताए । अबको पाँच वर्षमा प्रदेश नम्बर ५ लाई मूलुककै नमूनाको रुपमा विकास गराउने समेत उनको दावी थियो ।
नगर उपप्रमुख सीता सिक्देलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले गरेका थिए ।