Indrenionline.com

धनुवास-मखनटाकुरी २० वर्षपछि सडक सञ्जालले जोडिदै

दाङ, ५ माघ ।  दाङकोे तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेको सडक विस्तार गर्न लागेको छ । २० वर्षअघि उपमहानगरपालिका वडा नम्वर १ को धनुवाससम्म पुगेको सडक विस्तार गरेर सल्यानको मखनटाकुरीसम्म पुर्याउन लागेको हो ।

विकट वडाहरुलाई सडक सञ्जालले जोड्ने योजना अनुसार उपमहानगरपालिका भएपछि गाभिएका सडक सञ्जाल नपुगेका साविकका विभिन्न गाविसहरुमा सडक सञ्जाल विस्तार गरिरहेको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले वताए । उनले सडक सञ्जाल नपुगेका विकट गाउँलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत जानकारी दिए ।

वडा नम्वर १ को सल्यान मखनटाकुरी जोड्ने सडक सञ्जालको सुरुवात गर्दै नगर प्रमुख पाण्डेले सडकलाई समृद्धिसँग जोड्नका लागि जनताले उद्यममा ध्यान दिनुपर्ने वताए । उनले विकट वडाका जनतालाई लक्षित गरेर उपमहानगरपालिकाले ३ वटा एम्वुलेन्स खरिद गरेको वताउँदै केही दिनमै त्यो सञ्चालन हुने पनि वनाए । “जनताका सामु गरेका प्रतिवद्धतामा हामी सधै अडिग रहेका छौ” पाण्डेले वताए ।

तुलसीपुर उपमहानगरपालिकाले धनुवास, रानी टाकुरा गैरा सिउरे र मखन टाकुरा हुँदै सल्यान जोड्ने सडक निर्माणको काम सुरु गरेको हो । ४० दिन भित्र सडकको ट्रयाक खोल्ने काम पुरा हुने उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद वलीले जानकारी दिए । उनले ५ किलोमिटर लम्वाइ र ८ मिटर चौडाईको सडक निर्माण हुने समेत वताए । “बाटो वनेपछि हाम्रा दुखका दिन हराउँछन् की ?” वलीले भने ।

गाउँहरु सडक सञ्जालले जोडिने भएपछि अहिले स्थानीय जनतामा खुसी छाएको छ । स्थानीय डम्वर अर्यालले २० वर्षदेखिको सपना पुरा हुन लागेकोमा खुसी व्यक्त गरे । “२० वर्षसम्म यही धनवासमा रोकिएको बाटो अव सल्यान सम्म पुग्ने भएपछि वल्ल मेरो सपना पुरा भएको छ ” अर्यालले वताए ।