तुलसीपुर, २२ पुस । तुलसीपुर उपमहानगरपालिकामा रहेको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो स्थापना हुने भएको छ ।
तुलसीपुर विमानस्थलमा दैनिक विमान सेवा सञ्चालनमा आएको भएपनि इन्धन डिपो सञ्चालन हुन सकिरहेको थिएन । उपमहानगरपालिकाले लामो समयदेखि इन्धन डिपो स्थापनाका लागि प्रयास गरिरहेको नगरप्रमुख घनश्याम पाण्डेले वताए ।
उनले इन्धन डिपो स्थापनासँगै अहिलेको भाडा घट्नुका साथै दैनिक दुई फ्लाईट विमान सेवा सञ्चालन हुने पनि जानकारी गराए । “अहिलेलाई अस्थायी इन्धन डिपो स्थापना भएपनि यसलाई स्थायी वनाउनका लागि हामीले पहल गर्नेछौ” नगरप्रमुख पाण्डेले वताए । उनले इन्धन डिपो स्थापना गर्नमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
लामो समय वन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनसँगै टर्मिनल भवनका लागि समेत टेण्डर भइसकेको विमानस्थलका संयोजक श्याम डाँगीले जानकारी दिए ।