Indrenionline.com

शोकमा आज दाङका स्कूल बन्द

इन्द्रेणी संवाददाता
दाङ, ८ पुस । आज दाङका सम्पूर्ण शैक्षिक संस्था बन्द रहेका छन् । शुक्रवार वेलुका दाङ–सल्यान सडकखण्डको राम्रीमा घोराहीस्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बस दुर्घटना भएर २३ शिक्षक र विद्यार्थीहरु गरी २३ जनाको ज्यान गएपछि शोकमा आज आइतवार जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।

शोकमा निजी विद्यालयहरुको छाता संगठन प्याव्सन र एनप्याव्सनले जिल्लाका निजी विद्यालयहरु बन्द गर्न आह्वान गरेका छन् भने विभिन्न शिक्षा समितिहरुले पनि शैक्षिक संस्था बन्द गर्न आह्वान गरेका छन् ।

प्याव्सन दाङका अध्यक्ष्ँ यादव गिरी र एनप्याव्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीले विज्ञप्ति जारी गरी शोकमा जिल्लाका सस्थागत विद्यालयहरु बन्द गर्न आग्रह गरेका छन् । त्यस्तै उपमहानगरपालिकाका नगर शिक्षा समितिहरुले पनि शैक्षिक संस्था बन्द गर्न आग्रह गरेका छन् ।

गएको शुक्रवार वेलुका सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन फर्कने क्रममा शिक्षालयका शिक्षक विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर ३ राम्रीको भिरबाट करी ७ सय मिटर तल खसेको थियो ।