Indrenionline.com

नवलपुर युवा क्लवले बनायो आकर्षक फूटबल मैदान

उदय बीसी
दाङ, १९ मंसिर । दाङमा एक युवा क्लवले आफ्नै सक्रियतामा फूटवल मैदान निर्माण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित नवलपुर युवा क्लवले अम्वापुर जग्गा विकास आयोजना अन्तर्गत छुट्याइएको जग्गामा फूटवल मैदान निर्माण गरिएको हो ।

उक्त जग्गा विकास आयोजना अन्तर्गत नगर विकास समितिले छुट्याइएको करीव साढे २ विगाह क्षेत्रफल मध्ये केही जग्गामा एक समय मिटर लम्वाइ र ६६ मिटर चौडाइ भएको फूटवल मैदान निर्माण गरिएको नवलपुर युवा क्लनका अध्यक्ष दिपक पुनले बताए । ‘हामीले आफ्नै पहलमा यो मैदान निर्माण गरेका छौं’, उनले भने, ‘यसलाई निकट भविश्यमा मिनी स्टेडिएमको रुपमा विकास गरेर लैजाने योजना छ ।’

उनका अनुसार फूटवल मैदानका लागि घोराही उपमहानगरपालिकाले २ लाख स्वीकृत गरेको र घोराही नगर विकास समितिले ७५ हजार रुपैयाँ दिने र अरु सबै क्लवको जिम्मा रहेको उनले बताए । अहिलेसम्म करीव रु. ४ लाख खर्च भइसकेको जानकारी दिदै अध्यक्ष पुनले खेल मैदान करिव करिव अन्तिम चरणमा गएको बताए । निकट भविश्यमा एउटा कम्यूनिटी हल सहितको १० देखि १२ हजार दर्शक अट्ने स्टेडियमको पनि निर्माण गरिने उनले बताए ।

यसमा शुरु देखि नै दाङका फूटवल खेलाडी सुवास श्रेष्ठले पनि सहयोग गर्दै आएको अध्यक्ष पुनले बताए । उनी अहिले विदेश भए पनि यहाँको खेल क्षेत्र र यो मैदान निर्माणका लागि उहाँको पनि योगदान रहेको अध्यक्ष पुनको भनाइ छ ।

क्लवले यही मैदानमा मङ्सिर २७ गतेदेखि पुस ६ गतेसम्मका लागि फूटवल टुनामेन्टको पनि आयोजना गरेको छ । ‘केशरसिंह श्रेष्ठ स्मृति आमन्त्रण फूटवल प्रतियोगीता २०७५’ नाम दिइएको उक्त टुनामेन्टमा दाङका ७ र रोल्पाको एक गरी ८ समूहको सहभागी हुने अध्यक्ष पुनले बताए । यो खेलको पनि खर्च क्लवले नै जोहो गरेको बताए । खेल मैदान निर्माण, टुनामेन्ट आयोजना मात्रै होइन खेल क्षेत्रमा लुकेर रहेका प्रतिभालाई प्रष्फूटन गर्नका लागि निकट भविश्यमा प्रशिक्षण दिनेलगायतका एकेडेमिक कार्य पनि अगाडि बढाउने क्लवको लक्ष्य छ ।