दाङ, १५ कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा गठित मानवअधिकार निगरानी समूह लक्ष्मीपुरले वार्षिक कार्ययोजना निर्माण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ को कार्यालयमा विहीवार बसेको समुहको बैठकले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि काम गर्न विभिन्न योजना निर्माण गरेको हो ।
यस अवसरमा वडा कार्यालयले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका क्षेत्रमा विनियोजन गरेका बजेट र कार्यक्रमका विषयमा वडा सचिव पुनाराम गिरीले जानकारी दिनुभयो । उनले निगरानी समुहकै मागअनुसार केही कार्यक्रम राखिएकोले त्यसको प्रभावकारी कार्यान्वयन र नागरिक सेवालाई छिटो छरितो गर्न आग्रह गरे ।
प्रमुख अतिथी एवं वडाध्यक्ष भिमबहादुर सार्कीले स्थानीय सरकारका कामको सुक्ष्म निगरानी गरिदिन समूहलाई आग्रह गरेका थिए । सवै ठाउँमा जनप्रतिनिधिहरुको ध्यान नपुग्ने भन्दै वडा विकास, नागरिक अधिकारका विषयमा सुक्ष्म निगरानी गरेर जनप्रतिनिधि, वडा कार्यालय, कर्मचारीलगायत सरोकारवालाहरुलाई सचेत गराउन उनले समूहका पदाधिकारीहरुलाई आग्रह गरे ।
नागरिक अधिकारकै पक्षमा काम गर्न रात दिन खटिएर काम गरेको उल्लेख गर्दै अध्यक्ष सार्कीले सरकारका कामको खवरदारी र नागरिक अधिकारको पहरेदारी गर्नु समूहको काम भएको बताए ।
कार्यक्रममा मानवअधिकार निगरानी समूहका सदस्य तथा पदाधिकारीहरुले विद्यालय सुधार, कृषि उत्पादन तथा प्राविधिक सेवा, निशुल्क उपचार, औषधि र परामर्श सेवाका लागि वडा कार्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले गरेका थिए ।