तुलसीपुर, ६ कात्तिक । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले तुलसीपुरको अञ्चल अस्पताललाई प्रादेशिक स्तरको अस्पताल वनाउने वताएका छन् ।
‘तुलसीपुर विमानस्थल अव नियमित हुन्छ आन्तरिक विमानस्थलका रुपमा यसलाई निरन्तरता दिदै नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गरिनेछ ’ मुख्यमन्त्री पोख्रेलले भने ।
दाङ्गको विकासका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको वताउँदै पोख्रेलले विकासका लागि क्षेत्रिय स्वार्थ त्याग्नुपर्ने वताए । ‘समग्र दाङ्गको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ ’ मुख्यमन्त्री पोख्रेलको भनाई थियो । दाङ्गलाई प्रादेशिक राजधानी वनाउने कुरा आफ्नो हातमा नरहेको वताउँदै शेरवहादुर देउवाले गरेको गल्तिको दोष जनताले आफुलाई लगाएको आरोप समेत लगाए ।
‘राजधानी देउवा सरकारले तोक्ने अनि पुत्ला शंकर पोख्रेल र कृष्णवहादुर महराको जल्ने, हामी कस्तो राजनीतिक धरातलमा छौ ’ मुख्यमन्त्री पोख्रेलले प्रतिप्रश्न गरे । प्रदेशको राजधानी छान्ने काम आफ्नो नभएको वताउँदै प्रदेश सभाको दुई तिहाई वहुमतले त्यसको छनोट गर्ने उनको कथन थियो ।
दाङ्गमा सिचाई र खानेपानीको समस्या रहेको भन्दै पोख्रेलले माडिको पानी दाङ्ग ल्याउनका लागि प्रदेश सरकारले पहल गरिरहेको वताए । कुइरेपानी देखि तुलसीपुरसम्मको सडकलाई चार लेन वनाउनका लागि काम अगाडि वढेको वताउँदै उनले तुलसीपुरमा चक्रपथ निर्माणका लागि प्रदेश सरकारले वजेट विनियोजन गरिसकेको समेत वताए ।
कार्यक्रममा विषय प्रदेश गराउँदै नगरप्रमुख घनश्याम पाण्डेले बृहत गुरुयोजना निर्माण गरेर दाङ्गको विकासमा लागि काम गर्न आग्रह गरेका थिए । सडक वजेटहरुलाई खण्ड खण्ड वनाएर विनियोजन गर्नुभन्दा पनि एकै ठाउँमा राखेर वृहत सडक योजना वनाउनका लागि नगरप्रमुख पाण्डेले आग्रह गरेका थिए ।
तुलसीपुरमा रहेको विमानस्थल सञ्चालनका लागि पहल गर्न आग्रह गर्नुका साथै उपमहानगरपालिकाले निर्माण गर्न थालेको मेट्रो कलेजलाई प्रदेश स्तरकै विश्वविद्यालय समेत वनाउन सकिने गरि काम गर्न उनले आग्रह समेत गरे । अस्पतालमा दरवन्दी अनुसार चिकित्सक नभएको भन्दै मुख्यमन्त्री पोख्रेलले सरकारले तोकेको दरवन्दी मिलान गर्नका लागि प्रदेश सरकारलाई आग्रह समेत गरे ।