इन्द्रेणी संवाददाता
दाङ, ६ असोज । सिसा सगुन वचत तथा ऋण सहकारी संस्था आफ्नो सातौं साधारणसभा सम्पन्न गरेको छ । आज शनिवार घोराहीमा भव्य कार्यक्रमको आयोजना गरी साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले सहकारी बाटो सपारे प्रगति गर्दै जानेर बाटो विराए केही छिनमै ओरालो लाग्ने भन्दै यसमा सचेत भएर अगाडि बढ्न सिसा सहकारीलाई सुझाव दिएका थिए । उनले सहकारीमार्फत घोराही उपमहानगरपालिकाको सरसफाइमा पनि सहकारीहरु लाग्ने तर त्यसका लागि अगुवाइ उपमहानगरले गर्ने बताए ।
संस्थाका अध्यक्ष वालचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेलले सिसा सहकारी संस्थालाई जिल्लाकै नमूना सहकारीको रुपमा विकास गर्न शुभकामना दिए ।
कार्यक्रममा स्वागत संस्थाका व्यवस्थापक शिवराज खनालले गरेका थिए भने पदम सुवेदी संस्थाका सल्लाहकार विमल श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले आफ्ना विचार राखेका थिए । सो अवसरमा कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
४७७ शेयर सदस्य भएको उक्त सहकारीले पेन्सन बचत, शैक्षिक कर्जादेखि विभिन्न आकर्षक कर्जाको व्यवस्था गर्नुका साथै संस्थालाई आगामी वर्षमा अझ अगाडि बढाउन विभिन्न महत्वपूर्ण विषय पनि पारित गरेको छ । कार्यक्रमको सहजीकरण सचिव विमल योगीले गरेका थिए ।