Indrenionline.com

सम्बन्ध विच्छेदमा पुरुषनै अगाडि

दाङ, १३ भदौ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ लागु भए लगत्तै दाङमा पुरुषहरुले धमाधम सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्न थालेका छन् ।

जंगबहादुर कालिन पुरानो मुलुकी ऐन विस्थापित गरेर भदौ १ गते देखि मुलुकी देवानी (संहिता) ऐन, २०७४ लागु भएको छ । यस अवधिमा दाङ देउखुरी जल्ला अदालतमा १५ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । ती मध्ये अधिकाशं मुद्दा पुरुषले दायर गरेको अदालत प्रशासनले जनाएको छ ।

अदालतको मुद्दा दर्ता शाखाका डिठ्ठा चुडामणी रेग्मीका अनुसार दायर भएका मध्ये १२ ओटा पुरुषले नै हालेका छन् । भदौ १ गते यता ३ जना महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् । नयाँ नयाँ प्रकृतिका मुद्दाहरु दर्ता भइरहेको रेग्मीले जानकारी दिए । उनका अनुसार अघिल्ला साता मात्रै एक ७५ वर्षिय वृद्धले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् । उनले शुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । मुद्दा दायर गरेका सबैले अंश सहितभन्दा पनि शुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

नयाँ कानुन कार्यान्वयन नहुँदै पुरुषले मुद्दा दायर गरेका घेरै घटनाहरु छैनन् । विगतका वर्षहरुमा वार्षिक करिब ८ जना पुरुषले मुद्दा दायर गर्ने गरेका थिए । त्यतिवेला पुरुषल सिधै सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न पाउँदैन थिए । त्यसका लागि स्थानीय तह हुँदै प्रकृया पुरा गरेर आउनुपर्दथ्यो । गत आर्थिक वर्षमा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ५ सय ५५ ओटा मुद्दा दायर भएका थिए ।

एक सय ९ ओटा पुराना मुद्दा कायम थिए । गत आर्थिक वर्षमा पुराना र नयाँ गरेर ४ सय ९७ ओटा मुद्दा फैसला भएको थियो । गत आर्थिक वर्षमा एक सय ६७ वटा मुद्दा फैसला हुन बाँकी छन् । ती मुद्दा चालु आर्थिक वर्षका लागि सरेर आएका छन् । जनउभारबाट