तुलसीपुर, ७ भदौ । तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट सिटीका वारेमा सरोकार वालाहरुसँग छलफल गरेको छ । तुलसीपुरलाई स्मार्ट सिटी वनाउनका लागि सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत शहरी विकास मन्त्रालयका प्रतिनिधि र सरोकारवालासँगको छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले स्मार्ट सिटीका लागि सबैभन्दा पहिले पूर्वाधार आवश्यक रहेको वताएका थिए ।
पूर्व नगरप्रमुख शंकर आचार्यले व्यवस्थित र नयाँ ढँगले तुलसीपुरको संरचना अगाडि वढाउनुपर्ने कुरामा जोड दिए । अर्का पूर्व नगर प्रमुख ढुण्डीराज लामिछानेले तुलसीपुरको आवश्यकता अनुसारको स्मार्ट सिटी वनाउनुपर्ने सुझाव दिए । “विकसित देशका स्मार्ट शहर भन्दा पनि हामीलाई कुन कुराको आवश्यकता छ भन्ने कुरामा जोडि दिनुपर्छ” लामिछानेले वताए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले जनतालाई प्रविधि मार्फत सेवा दिन सकियो भने स्मार्ट सिटीको अवधारणामा अगाडि वढ्न सकिने वताए । उनले तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि जनप्रतिनिधि तयार भएको अवस्थामा नयाँ ढँगले यसलाई अगाडि वढाउनुपर्ने कुरामा जोड दिए ।
वडा नम्वर १४ का वडाध्यक्ष पर्शुराम चौधरीले स्मार्ट सिटी वनाउनका लागि साना साना कुरामा जोड दिनुपर्ने वताए । उनले जनताको तत्कालिन आवश्यकतालाई सम्वोधन गर्नका लागि उपमहानगरपालिकाले ध्यान दिनुपर्ने कुरामा जोड दिए । वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले स्मार्ट सिटीको सामान्य आधार वनाउनुपर्नेमा सुझाव दिए ।