Indrenionline.com

नयाँ अभ्यास : तुलसीपुर वसपार्कमा स्तनपान कक्ष

तुलसीपुर, २२ साउन । तुलसीपुरमा निर्माण हुन थालेको आधुनिक वसपार्कमा स्तनपान कक्ष समेत निर्माण गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले निर्माणाधिन भवनको अवलोकन गर्दै स्तनपान कक्ष निर्माणका लागि निर्देशन दिएका छन् ।

‘स्तनपान गराउने कक्ष नहुँदा महिलाहरुले अनेक झन्झट हुने भएकाले यस्तो कक्षको निर्माण गर्न आवश्यक छ ’ नगरप्रमुख पाण्डेले वताए । स्तनपान कक्षको अभावमा बालबालिकाहरुले आवश्यक मात्रामा दुध खान नपाएको भन्दै उनले स्तनपान कक्ष निर्माणको धारणा अगाडि वढाएको वताए ।

यसैविच निर्माणाधिन वसपार्कको अवलोकन गर्दै नगरप्रमुख पाण्डेले निर्माण कार्यलाई तिव्रताका साथमा अगाडि वढाउन निर्देशन समेत दिएका छन् । ‘निर्माणमा हाम्रो तर्फबाट कुनै पनि कमी हुँदैन तपाईहरुले आफ्नो तर्फबाट राम्रोसँग काम गर्नुहोला ’ उनले निर्माण कम्पनीलाई अनुरोध गरेका थिए ।

निर्माणको जिम्मा लिएको शिवशक्ति कन्स्ट्रक्सन कम्पनीका कन्ट्रयाक्ट इन्जिनियर विजय वोगटीका अनुसार निर्माणाधिन वसपार्कका मुख्य भवनमा पचास वटा कोठा रहनेछन् । पहिलो चरणमा एक तला मात्रै निर्माण हुने भवनमा थप तलाको लागि लिफ्ट समेत राखिने उनले वताए । भवनमा काउन्टर, पसल, रेष्टुरेण्ट, वाथरुम र स्तनपान कक्ष समेत रहने बोगटीले जानकारी गराए । उनले दैनिक ५० जना कामदारले काम गरिरहेको वताउँदै तिव्रताका साथमा काम गरिरहेको जानकारी दिए । ‘वर्षाले गर्दा अलि समस्या भएको छ तर पनि हामीले काम रोकेका छैनौ ’ उनले भने ।

यसैविच अवलोकनका क्रममा अव्यवस्थित तवरले रहेका वस काउन्टर व्यवस्थापन गर्नका लागि पनि नगरप्रमुख पाण्डेले निर्देशन दिएका छन् । उनले अटेर गरेर जथाभावि राखिएका काउन्टर तत्काल भत्काउनका लागि समेत निर्देशन दिएका छन् । ‘संरचना निर्माणका लागि हामीलाई सहयोग गर्नुस् हामी तत्काल समस्याको समाधान गर्नेछौ ’ नगरप्रमुख पाण्डेले भने । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा आधुनिक वसपार्क निर्माणका लागि नगर विकास कोषसँगको ऋण साँझेदारीमा भवन निर्माण गर्न लागेको हो ।