Indrenionline.com

विकास : सडकमा टाला हाल्नमै सिमित

गोविन्द खड्का
घोराही, ८ साउन । करीब १५ दिन अघि टालेको सडकमा फेरी अर्को टालो थपेर घोराही बजारमा आश्चर्य चकित बनाएका छन् । शहिद उमेश मार्ग नजिक सडकमा चा“डै उम्कियो त्यसैले हालेको भन्दै थुपार्दै थिए ।

सडकमा ट्याक्टर र रोलरले काम गरिरहेको दृश्य अनौठो थियो । केही दिन अघि टालेको कालोमसी सुक्न नपाउदै अर्को पटक अलकत्रा हाल्दै थिए । एकातिर अलकत्रा थुपारेको अर्कोतिर भने सडक खाल्टा खुल्टी देखिन्थे । खाल्टामा नहालेर अलकत्रा केही दिन अघिको टालोमै खसाल्दै थिए ।

त्यसरी काम गरीरहेको बेला न जनप्रतिनिधि थिए । न त घोराही उपमहानगरपालिकाका कर्मचारी नै देखिए । टालैमा टालो हाल्नेहरु ठेकेदार र तीनका कामदार रहेको जानकारी दिए । उनीहरुले धेरै कुरा गर्न चाहेनन् । बरु खुरु खुरु भर्खरै टालो हालेको ठाउमा हतार हतार काम गरे ।
त्यसै बेला उपमहानगरपालिका जान घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी त्यही बाटो झरे । त्यो दृश्य देखेर मोटर साइकल रोके । अनुहार काच्याक कुचुक्क पारेर उनीहरुसँंग कुरा थाले । एकाएक डाँगीको मुख मुद्रा काम गराइको शैलीले निकै विग्रीएको थियो ।

मोटर साइकलबाट झरेर यो कसले भनेको ? किन हालेको ? भनि प्रश्न गर्दा उनीहरुले जवाफ दिन चाहेनन् । काममा खुरु खुरु लागिरहे । उनीहरु कामदार भएकाले जवाफ नदिएको खुल्यो । अलि पर उभिएको एकजनालाई सिकाइ दिए । तीनले घोराही उपमहानगरपालिकाका कर्मचारीले भनेका हुन् भनेर जावाफ दिए । पहिला हालेको उप्कीएकाले थपेको बताए ।
अध्यक्ष डाँगीले कि त यो खाल्टा खुल्टीमा हाल्नुपर्दथ्यो भनेर सम्झाए । उनीहरुले त्यसो गर्न पनि मानेनन् । बिग्रीएको सडक बनाउनुभन्दा केही दिन अघि मरमत गरेकै सडकमा अलकत्रा थुपारे ।

उनको जवाफले रन्थनीएका अध्यक्षा डाँगी मेयर नरुलाल चौधरीलाई भेट्छु भन्दै उपमहानगरपाकिला तिर लागे । सडक टालो हाल्नेहरुले निरन्तर काम गरिरहेका थिए । कसैले सिकाउनु परेन, रोक्ने पनि कोही थिएन । कुन स्तरको कति खन्याउने भन्ने पनि केही देखिएन । गुणस्तरको ख्यालै नगरी अरुकै भरमा बजारका धेरै विकास निर्माणका काम अघि बढेका छन् ।

यसरी भारी भर्कम जनप्रतिनिधी हुदा पनि ठेकेदार वा अन्यको भरमा सडकमा बजेट खन्याईदै छ । आन्दोलन गरेरै भएपनि स्थानीय सरकारका सदस्य सम्मका जनप्रतिनिधिले तलव भत्ता खाएका छन् । उनीहरु कसैले पनि यस्ता काममा ध्यान नदिएर अन्तै हराएको आरोप लाग्न थालेको छ । बजारबासीहरु कर्मचारीले जत्तिको पनि काम नहुनेहो कि भन्ने चिन्ता गर्न थालेका छन् ।

शहिद गेटदेखि घोराही उपमहानगरपालिकासम्मको बाटोमा अलकत्रा थप्नै नपर्ने स्थानीयको गुनासो छ । त्यही ठाउमा बजेट खन्याइएको छ । बरु बजारका बेर्ना गोडमेल गर्नुपर्ने जरुरी देखिएको छ । त्यसमा कसैको ध्यान छैन । नगरपालिका हुँदासम्म हरित नगरको नारा लाग्थ्यो अहिले सम्म एउटा वेर्ना पनि वितरण भएको छैन । सडक चैतमै टालिन्थ्यो अहिले साउन सम्म पनि रोकिएको छैन । यो चालाका बारेमा बुझि नसक्नु भएको बुद्धिजिवि बताउछन् ।

सबै भन्दा धेरे खाल्टा खुल्टी भएको सडक नेपाली सेनाको , गुजुरी बजार, खसी मार्केट हुदै राप्ती उपक्षेत्रयी अस्पताल सम्मको मानिन्छ । त्यस क्षेत्रमा मोटरसाईकल र अटो रिक्साहरु चलाउनै मुश्किल छ । त्यहा नया योजना परेकाले न टालिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

कालोपत्रे गर्दा वा सडक विस्तार गर्दा कर्मचारीकै भर परिन्छ । कतै पनि जनप्रतिनिधिहरु देखिदैनन् । तलव भत्ता माग्दा समान भनेर आवाज उठाउनेहरु विकास निर्माण र कामकाज गर्दा भने आफ्नै रुनी झुनिमा व्यस्त देखिएका छन् । मेयर उपमेयर एव वडा अध्यक्ष कार्यक्रमहरु भ्याई नभ्याई छ । सदस्यहरु भने तलव भत्ता बुझ्ने र पुर्ववत काममा व्यस्त हुने गरेको गुणासो बढेको छ । केहि जनप्रतिनिधि बाहेक अधिकांशहरु कार्यालयमा नपुगेरै तलव खाने गरेका छन् ।