Indrenionline.com

फोहर गर्नेलाई उपमहानगरपालिकाको चेतावनी पत्र

तुलसीपुर, २७ असार । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो घर आँगन र पसल वरिपरी फोहोर गर्नेहरुलाई चेतावनी पत्र दिएको छ ।

उपमहानगरपालिकाले पटक पटक सार्वजनिक सुचना मार्फत घर आँगन सफा राख्नका लागि आव्ह्वान गर्दा समेत अटेर गर्ने क लाइनका ३५ जनालाई चेतावनी पत्र दिएको हो । उनीहरुलाई आगामी दिनमा अटेर गरे कारवाही गर्ने पनि उपमहानगरपालिकाले जनाएको छ ।

तुलसीपुरलाई सुन्दर र हराभरा वनाउने लक्ष्यका साथमा सञ्चालन गरिएको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको ९९ औ श्रृंखलाका क्रममा उनीहरुलाई कारवाही गरिएको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले वताएका छन् । उनले सरसफाई गर्नु सवै नागरिकको दायित्व भएको भन्दै अटेर गर्नेलाई कारवाही गरेर भएपनि सरसफाई अभियानलाई सार्थकता दिने वताए ।

तुलसीपुरको विरेन्द्रचोकबाट सुरु भएको अभियान क लाईन सरसफाई गरेर समापन भएको थियो । अभियानलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले तुलसीपुरलाई हराभरा वनाउने अभियानमा सबैले साथ दिनुपर्ने वताइन् ।

अभियानमा तुलसीपुर उद्योग वाणिज्य संघ, भुतपूर्व प्रहरी संगठन, सशस्त्र प्रहरी लगायतका विभिन्न सामाजिक संघसंस्थाको संलग्नता रहेको थियो । अभियानको १०० औ श्रृंखलाका क्रममा वृक्षारोपक कार्यक्रम गरिने संयोजक लामिछानेले वताए ।