Indrenionline.com

बिद्यार्थीको ड्रेसमा सिन्डिकेट, पसल र स्कूल/कलेज बिचमा आर्थिक चलखेल

जनक नेपाली
दाङ, २४ असार । दाङमा संचालित केही कलेजहरुले बिद्यार्थीको ड्रेसमा पनि सिन्डिकेट लगाएका छन् । प्लस टु को नयाँ भर्ना खुलेसंगै जिल्लामा संचालित कलेज र सिलाई पसलको मिलोमहतोमा विद्यार्थी माथि सिन्डिकेट लगाएको नेपाल कपडा तथा सिलाई व्यवसायी दाङका अध्यक्ष चूर्ण परियारले जानकारी दिए ।

जिल्ला भर करिब साढे तीन सयको सख्यामा सिलाई पसल संचालनमा आएपनि कलेज तथा बिद्यालयहरुले राजेको पसलबाट मात्र बिद्यार्थीलाई ड्रेस किन्न र सिलाउँन बाध्य बनाएको परियारले वताए । कलेज राजेको भन्दा बाहिर गई विद्यार्थीले ड्रेस सिलाउँन नपाउँने वातावरण सृजना भएको परियारको भनाइ छ ।

विद्यार्थी भर्ना गर्दा कलेजले नै सिलाई पसलको भिजिटिङ कार्ड सहित विद्यार्थी पढाउँने गरेको भन्दै पछिल्लो समय यो निकै समस्याका रुपमा देखा परेको अध्यक्ष परियारको भनाई छ । कलेजहरुले विद्यार्थीको ड्रेसमा सिन्डिकेट लगाए संगै कलेज र सिलाई पसलका विचमा पनि ठुलो आर्थिक चलखेल हुदै आएको अध्यक्ष परियारको भनाइ छ ।

कलेजले तोकिएकै पसलबाट विद्यार्थीलाई ड्रेस किन्न र सिलाउँन लगाउँने विद्यार्थीबाट आएको कमिशन समेत सिलाई पसलले कलेजलाई दिदै आएको नेपाल कपडा तथा सिलाई व्यवसायी समिति दाङका सचिव पदम परियारले बनाउँनुभयो । यसबाट सयौ विद्यार्थी र अभिभावकले मार खेप्दै आएको सचिव परियारको भनाइ छ ।

ड्रेस बाफत विद्यार्थीबाट आउँने कमिशनका कतिपय कलेजका प्रिन्सिपल र लेखा अधिकृतसम्म पुग्ने गरेको सचिव परियारको भनाइ छ । यसले गर्दा अभिभावकाहरुको ढाड नै सेकिने गरेको उहाँले बताए । बिचौलीयाका कारण साना व्यावसायी मर्कामा परेको सचिव परियार बताए । कलेजले विद्यार्थीलाई सिन्डिकेट लगाउँदा कतिपय व्यावसायीमाथि सटर बन्द गर्नुपर्ने अबस्था आएको समेत उनले वताए ।

कतिपय कलेजहरुले विद्यार्थी संग पाँच सय देखि १० हजार रुपैयाँ सम्म कमिशन लिने गरेको वताउँदै बिद्यार्थीसंग चर्काे मुल्य असुलेर कलेजका प्रिन्सिपल र लेखापाललाई दिने काम भएको उनले वताए । नेपाल कपडा तथा सिलाई व्यावसायी घोराही नगर कमिटीले कलेजले लगाएको सिन्डिकेटको बिरोध गरेको छ ।

समितिले एक विज्ञप्ती जारी गर्दै विद्यार्थी माथी गरिएको सिन्डिकेत तत्काल हटाउँन माग गरेको छ । विद्यार्थीको ड्रेसमा नै आर्थिक चलखेल गरी बिचौलीयाले फाईदा लिएको भन्दै सो कार्य बन्द गर्न माग समेत गरेको छ ।

नेपाल कपडा तथा सिलाई व्यावसायी समिति घोराही उपमहानगरपालिकाका अध्यक्ष निखिलेश गिरीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा यस्तो भनिएको छ । उक्त कार्यले विद्यार्थी र अभिभावकमा संगसंगै सिलाई व्यावसायी समेत मर्कामा परेको भन्दै सो कार्यबन्द गर्न समेत तत्काल माग गरेको छ । व्यावसायीको कुरालाई व्यवास्था गरे त्यसको प्रतिबाद गरी आन्दोलनमा उत्रने विज्ञप्तिमा भनिएको छ ।