Indrenionline.com

मल कालोवजारी गर्ने कृषि सहकारीका सदस्यलाई कारबाही

तुलसीपुर, २१ असार । कृषि सामग्री संस्थानको मल कालोवजारी गरेर वेच्ने फुलवारी कृषि सहकारी संस्थाका सदस्य कर्णवहादुर नेपालीलाई संस्थाले साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ ।

किसानहरुलाई तोकिएको भन्दा वढी मुल्यमा मल विक्री गरेको भन्दै सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेलले वढी लगेको रकम समेत फिर्ता गर्न लगाएका हुन् । नेपालीले युरियामा २ सय र डिएपीमा ५० रुपैया वढी रकम लिएर मल विक्री गरेका थिए ।

उनले किसानहरुबाट चर्को रकम लिएको वारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि सहकारी संस्थाले नेपालीलाई कारबाही गरेर पीडित ८८ जना किसानहरुलाई रकम फिर्ता गरेको हो ।

किसानहरुले रकम फिर्ता भएपछि खुसी व्यक्त गर्दै सहकारी सस्थाका नाममा ठगी गर्नेलाई कारबाही समेत हुनुपर्ने वताएका थिए । रकम फिर्ता कार्यक्रममा वडाध्यक्ष डम्वर न्यौपाने, युवा समाजसेवी मोहन पौडेल, नेकपामा हुमवहादुर नेपाली लगायतको सहभागिता रहेको थियो ।