घोराही, १७ असार । घोराही उपमहानगरपालिकाले कक्षा ११ को अनुमती प्रदानका लागि सामाजिक विकास समितिका संयोजक भरत अर्यालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
कार्यदलले थप कक्षा संचालनका लागि विद्यालयहरुले अनुमति मागेमा प्रचलनमा रहेको नियम, कार्यविधि तथा मापदण्डका आधारमा उपमहानगरपालिकाले अवलम्वन गर्नुपर्ने नीति, मापदण्ड समेत तयार गरी अनुमति मागेका विद्यालयलाई अनुमति प्रदान गर्ने गरी कार्यदल गठन भएको हो ।
कार्यदलबाट प्राप्त सिफारस नगर प्रमुखबाट स्वीकृत भएपश्चात उपमहानगरपालिकाको कार्यालयबाट कार्यान्वयन गर्ने गराउने निर्णय समेत भएको छ । कार्यदलको सदस्यहरुमा राममणि पाण्डे, बिष्णमणि दाहाल, खोपीराम चौधरी, सम्बन्धित वडाका वडा अध्यक्ष, इन्जिनियर रामधन श्रेष्ठ र शिक्षा शाखा प्रमुख नारायण पौडेल सदस्य सचिब रहेका छन् ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर ८ को ढिकपुर गाउँलाई वडा नम्बर ९ मा गाभ्न उपयुक्त हुने सम्बन्धित स्थानीयबासीको माग र दुवै वडाहरुको सिफारिस भएको भन्दै स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६ बमोजिम सीमाना हेरफेर गर्न प्रदेश सरकारमा पठाउन नगरसभाको स्वीकृतिको लागि नगरसभामा पेश गर्ने निर्णय भएको छ ।