Indrenionline.com

दाङमा बैकल्पिक बिमानस्थलको प्रक्रियाको बिरोध

तुलसीपुर १७ असार । सरकारले दाङमा बैकल्पिक बिमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरबासीहरु आन्दोलित भएका छन् । सरकारले आगामी आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा दाङमा बैकल्पिक बिमान स्थलको प्रक्रियालाई अघि बढाउने समावेश गरेको भन्दै बिरोध गरेका हुन् ।

तुलसीपुरमा बिमानस्थल हुँदाहुँदै बैकल्पिक बिमान स्थलको खोजी गर्नु उचित नभएको बताए । उनीहरुले तुलसीपुरको टरिगाउँ एयरपोर्टलाई स्तरबृद्धि गरि हवाई सेवा नियमित बनाउनुपर्ने ठाउँमा बैकल्पिक बिमान स्थल बनाउने नीति अगाडि बढाउनु बैज्ञानिक नभएको बताए ।

साथै आफुहरुसंग कुनै छलफल नगरि नारायणपुरमा बैकल्पिक बिमान स्थल निर्माण गर्ने प्रक्रिया अघि बढाउन लागेको भन्दै आपति पनि जनाए । नारायणपुरमा शनिबार एक कार्यक्रम गरि बिरोध जनाएका हुन् । सरोकार समितिका संयोजक जय बहादुर बुढाको अध्यक्षता तथा त्यस क्षेत्रका अगुवा पुरन बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि केसीले नारायणपुरमा बैकल्पिक बिमान स्थलको कार्यलाई अगाडि बढाउन नदिने बताए ।

बैकल्पिक बिमान स्थल निर्माणका लागि जग्गा नदिने समेत उनीहरुको भनाई छ । साथै आउदा दिनमा संघर्ष समिति गठन गरेर आन्दोलनलाई ससक्त बनाउने उनले बताए । बिरोध कार्यक्रममा त्यस क्षेत्रका १५ टोल विकास संस्था, सरोकारवाला निकायलगायतको सहभागिता रहेको थियो । बिरोध कार्यक्रमको सहजीकरण स्थानीय धर्मा सेजुवालले गरेका थिए । बिरोध कार्यक्रममा तीन सय बढि नारायणपुरबासीको सहभागिता रहेको थियो ।