इन्द्रेणी संवाददाता
दाङ, २९ जेठ । दाङको तुलसीपुरमा ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि र सवारी दुर्घटना सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत तुलसीपुरका न्यायाधिश महेश शर्मा पौडेलले सडक सम्बन्धी बनेका कानुन पालना गर्न सबैलाई आग्रह गर्दै कानुन मिच्ने प्रबृति अन्त्य गर्नmसके सडक दुर्घटना न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सडक दुर्घटना ट्राफिक प्रहरी एक्लैले न्यूनिकरण गर्न सम्भव नभएको भन्दै यसमा सबैको जिम्मेवारी उत्तिकै भएको बताए । उनले सबैले आ–आफ्नो ठाउँमा जिम्मेवारी वहन गरे दुर्घटना न्यूनिकरण हुने बताए ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिक्ति महानिरीक्षक शेरबहादुर बस्नेतको अध्यक्षतामा भएका कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, महिला रक्षकहरुको संजाल दाङका अध्यक्ष सुष्मा गिरी, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्का, नमस्ते राप्ती यातयात प्रालिका अध्यक्ष बामदेब खनाल, रामप्रसाद चालिसे, डिएसपी पुष्पलाल मल्ललगायतले आफ्ना विचार राखेका थिए ।