तुलसीपुर, २६ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा असार ५ भित्रसम्ममा वडास्तरिय योजनाहरु छनोट हुने भएका छन् । उपमहानगरपालिकाको कार्यपालिका वैठकले टोलस्तरबाट योजना छनोट गरेर असार ५ सम्म उपमहानगरपालिकामा पेश गर्ने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले वताएका छन् ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले नगरपालिकामा पर्न आएका उजरीहरु उपर सहज तथा सरल रुपले न्याय निरुपण गर्नका लागि मेलमिलाप कताहरुको वडास्तरबाटै सुचिकृत गर्ने निर्णय समेत गरेको छ । वैठकले मापदण्ड विपरित निर्माण भएका संरचनाहरु तत्काल भत्काउने निर्णय समेत गरेको छ । यसैगरि थारु जातिमा हुने रोक सिकलसेल एनिमियाका वारेमा अनुसन्धान गर्नका लागि प्रस्ताव स्विकृत गरी अघि वढाउने निर्णय समेत गरेको छ ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरुलाई ग्रामिण तथा शहरी क्षेत्र निर्धारण गरेको छ । कार्यपालिकाको वैठकले वडा नम्वर ५ को पुरै क्षेत्र, वडा नम्वर ६ को दक्षिण टरिगाउँ एयरपोर्ट सम्म , वडा नम्वर ८ र ९ को गहते खोला सम्म, वडा नम्वर दोघरे टाउनप्लान , वेलुवा मौजा, तुलसीपुर उत्तर आँखा अस्पतालसम्म र घोराही तुलसीपुर सडक खण्डको दायाँ वाया दुई सय मिटरसम्मलाई शहरी क्षेत्रका रुपमा विभाजन गरेको छ भने अन्य सवै वडाका भूभागहरु ग्रामीण क्षेत्रका रुपमा निर्धारण गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले पार्किङ्ग शुल्क संकलन गरेर पार्किङ्ग व्यवस्थापना गर्ने भएको छ । यसका साथै तुलसीपुर उपमहानगरपालिका भित्रका सञ्चार माध्यमहरुलाई चट्याङ्ग पारेको क्षतिमा सहयोग गर्ने भएको छ ।