दाङ जेठ १४ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङले जिल्लाका १० स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ ।
परिवर्तित ब्यवस्था अनुसार वन महासंघले पनि स्थानीय तहमा महासंघले अधिवेसन गरी स्थानीय महासंघ गठन गरेको हो ।
सम्वन्धित पालिकामा रहेका सामुदायिक वन समूहको संख्या र जिल्ला महासंघको पूर्ण बैठकको निर्णय अनुसार घोराही र तुल्सीपुरमा ४१÷४१ सदस्यीय, लमही नगरपालिका, राप्ति, बंगलाचुली र दंगीशरण गाउँपालिकामा १५ ÷१५ सदस्यीय, गढवा गाउँपालिकामा २५ सदस्यीय, राजपुरमा १८ सदस्यीय, शान्तिनगरमा १३ सदस्यीय र बबइ गाउँपालिकामा ११ सदस्यीय कार्य समिति रहने गरी स्थानीय महासंघ गरिएको छ ।
दाङका १० वटै स्थानीय तहमा न्यायिक र लेखमा समिति पनि गठन भएका छन । प्रदेश अधिवेसनका लागि स्थानीय महासंघको अधिवेसनबाट ८ जनाका दरले प्रदेश प्रतिनिधि पनि सर्वसहमतिले चयन गरिएको छ ।
सामुदायिक वनका उपभोक्ताहरुलाई स्थानीय स्तरबाटै सेवा दिने गरी राज्यको पुर्नसंरचना अनुसार वन महासंघको परिवर्तित बिधान र संगठनीक नियमावलीमा रहेर सवै तहमा महासंघको संरचना बनाई नयाँ नेतृत्व चयन गरिएको छ ।
स्थानीय महासंघ तल्लो तहको संरचना हुने छ । जिल्ला महासंघ अव समन्वयकारी रुपमा रहने छ भने प्रदेश स्तरीय र केन्द्रीय महासंघको संरचना वन महासंघले बनाउने छ । यसअघी तल्लो निकायको रुपमा वन महासंघले जिल्ला वन कार्यालयको संरचना अनुसार दाङका १५ वटै रेञ्जपोष्टमा रेञ्जपोष्ट स्तरीय इलाका महासंघ रहेका थिए ।
को—को छानिय स्थानीय महासंघको नेतृत्वमा ?
घोराही उपमहानगरपालिका स्तरीय महासंघको अध्यक्षमा कर्णबहादुर बुढाथोकी, तुल्सीपुर उपमहानगरपालिकामा चन्द्रबहादुर वली, लमही नगरपालिकामा लक्ष्मी योगी, राप्ति गाउँपालिकामा हरि भुसाल, गढवामा नवराज शर्मा, राजपुरमा रामबरण यादव, बंगलाचुलीमा रत्नलक्ष्मी थापा, शान्तिनगरमा लेवाराम आचार्य ,दंगीशरणमा शोभाकर न्यौपाने र बबइमा मोहलाल थापा अध्यक्षमा चयन भएका छन् । ।
वन महासंघको बिधान बमोजिम समावेसी सिद्धान्तका आधारमा अध्यक्ष र सचिवमा एक महिला, उपाध्याक्ष र कोषाध्यक्षमा एक महिला र न्यायिक समिति र लेखा तथा अनुगमन समितिको संयोजकमा एक महिला हुनु पर्ने ब्यवस्था अनुसार स्थनीय महासंघ गठन गरिएको छ ।
स्थानीय तहका सवै अधिवेसनले सामुदायिक वन उपभोक्ता महासंघ दाङका पूर्व अध्यक्ष एंव केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्का र जिल्ला महासंघका निर्वतमान उपाध्याक्ष हुमा डिसीलाई केन्द्रीय महासंघमा र जिल्ला महासंघका अध्यक्ष शोभाकर सापकोटालाई ५ नं प्रदेशको अध्यक्षमा प्रस्ताव गरेको छ ।
स्थानीय तहका महासंघको अधिवेनबाट आम सहमतिका आधारमा खड्का, डिसी र सापकोटालाई माथिल्लो प्रतिनिधित्व गर्न पठाउने निर्णय आमसहमतिबाट भएको वन महासंघ दाङले जनाएको छ ।