शंकर के सी
सल्यान, १२ जेठ । सल्यानका महिलाहरु सात दिनमै गहना बनाउन सिकेर आफैले निर्माण गरेको गहनामा सजिएका छन् । तर गत जेठ पाँच गते शनिबारदेखि कपुरकोट गाउँपालिकाले आयोजना गरेको क्रिष्टलका गहना बनाउने तालिममा सहभागी भएपछि महिलाहरुले आफै निर्माण गरेको गहनामा सजिएका हुन् ।
महिलाहरुले कपुरकोटमा आयोजना गरिएको साना व्यवशायी महिलाहरुका लागी क्रिष्टलका गहना बनाउने तालिममा महिलाहरुले चुरा, टप, औँठी, माला, रानी हार लगाएतका गहना बनाउन सिके । महिलाहरुलाइ तालिम प्रदान गर्नका लागी सृजनशील क्रिष्टल हस्तकला उद्योग नेपालकी निर्देशक तथा सफल महिला उद्यमी कमला सुवेदी सल्यान आएकी थिइन् ।
पछिल्लो समय नेपाल लगाएत विदेशबाट समेत क्रिष्टलका गहनाको माग दिनप्रतिदिन बढ्दै गएपछि सल्यानका महिलाहरु पनि यो सिप सिकेर व्यवशायी बन्ने दिशातर्फ अघि बढेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिकामा त केही महिलाहरुले व्यवशायीक रुपमै गहना बनाउन थालिसकेका छन् । कम मिहेनत र कम लगानीमा क्रिष्टलका आकर्षक गहना बन्ने भएकाले महिलाहरु यसतर्फ आकर्षित भएका छन् । कपुरकोट ३ दमारखोलाकी अञ्जना विकले अव सिकेको सिपलाइ व्यवहारमा उतारेर क्रिष्टलका गहना उत्पादन गर्ने योजना सुनाइन् । उनीजस्तै तालिममा सहभागी १८ जना महिलाहरुले गहना बनाउन सिकेका छन् ।
तालिम समापन कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जीवराज केसीले उद्यम गर्न चाहने महिलाहरुलाइ गाउँपालिकाले लगानी गर्ने बताए । सिप सिकेका महिलाहरु हिंशामा पर्ने सम्भावना पनि कम हुने भएकाले व्यवशाय सञ्चालन गरि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । महिला तथा वालवालिका शाखाकी प्रमुख सावित्रा कुमारी आचार्यले सहजीकरण गरेको कार्यक्रममा प्रशिक्षक कमला सुवेदीले अन्य बहुमूल्य धातुका तुलनामा क्रिष्टलको गहना मूल्यमा सस्तो र लगाउँदा आकर्षक देखिने भएकाले यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको बताइन् । उनले आफुले सुरुमा १० हजारबाट सुरु गरेको यस व्यवशाय बढ्दै गएर अहिले आफु एक करोड ५० लाखको मालिक बनिसकेको बताइन् ।
कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिनबहादुर सेन, वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, पत्रकार महासंघ सल्यानका सचिव शंकर केसी, शिक्षक महासंघका कपुरकोट गाउँपालिका अध्यक्ष श्यामकुमार केसी लगायतकाले उद्यमले दरिद्रता हटाउने भएकाले सिकेको सिपलाइ प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।