Indrenionline.com

अघोषित लोडसेडिङ प्रति कांग्रेसको ध्यानाकर्षण

इन्द्रेणी संवाददाता

दाङ, १० जेठ । अघोषित लोडसेडिङप्रति नेपाली कांग्रेस दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनतालाई झुक्याउन लोडसेडिङ मुक्तको घोषणा संगै दश हजार मेघावाट विद्युत उत्पादन गर्ने जस्तो नारालाई यो अघोषित लोडसेडिङले खिल्ली उडाएको कांग्रेसले विहिवार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

काँग्रेस दाङका जिल्ला सभापति किर्तीवहादुर खडका र सचिव शंकरप्रसाद डाँगीले विज्ञप्ती जारी गरीे ध्यानाकर्षण जनाएका हुन् । विज्ञप्तीमा विद्युत आपुर्ती अनियमीत हुँदा आम नागरिक, उद्योगधन्दा कलकारखाना, कृषि क्षेत्र तथा विद्यार्थीहरु समेत समस्यामा परेको जनाइएको छ ।

विद्युत अनियमितता भएपछि कार्यालयमा धर्ना
यसैगरी तुलसीपुर क्षेत्रमा भएको विद्युत अनियमितताको मार खेप्दै आई रहेका स्थानियहरु विहीवार तुलसीपुर स्थित विद्युत कार्यालयमा पुगेर धर्ना दिएका छन । उनीहरुले नेपाल विद्युत प्राधिकरण शाखा तुलसीपुरले विना जानकारी विद्युत कटौति र आन्तरिक लोडसेडिङ मनोमानि तरिकाले गरेको भन्दै २४ घण्टा भित्र नियमित सेवा सुधार गर्न एक हप्ता भित्र विद्युत कार्यालयवाट प्रदान हुने सबै सेवाहरु सुधार गर्न ज्ञापनपत्र समेत बुझाएका छन् ।