Indrenionline.com

वन महासंघले स्थानीय तहमा अधिवेशन गर्ने

दाङ, २ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङले जिल्लाका १० वटा स्थानीय तहका महासंघको अधिवेसन जेठ १३ गतेभित्र सम्पन्न गर्ने भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङको आज बुधवार घोराहीमा सम्पन्न जिल्ला कार्य समितिको पूर्ण बैठकले १३ गतेभित्र अधिवेसन सम्पन्न गरी जेठ १५ गतेभित्र प्रतिवेदन केन्द्रीय महासंघमा पठाउने निर्णय गरेको छ ।

कार्यसमितिको बैठकले वन महासंघको संसोधित बिधान अनुसार दाङका १० वटै स्थानीय तहका महासंघमा अव गठन हुने कार्यसमिति, न्यायिक समिति र लेखा तथा अनुगमन समितिको संख्या निर्धारण गरेको बैठकपछि जिल्ला महासंघका सचिव तथा प्रवक्ता हेमराज शर्माले जानकारी दिए । बैठकले स्थानीय महासंघको अधिवेसन सम्पन्न गर्नका लागि जिल्ला प्रतिनिधि समेत तोकेको छ ।

वन महासंघका दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको बैठकले अधिवेसन सम्पन्न गर्नका लागि वन समूहको भेला वा बैठकबाट वनको अभियानमा लागेकाहरुमध्येबाट समावेसी सिद्धान्तको आधारमा २ जना महिला र २ पुरुष गरी ४ जनालाई प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । प्रतिनिधि छनौट गर्ने समूह वन महासंघमा आवद्ध र नविकरण हुनै पर्ने अन्नेथा अवद्धता र नविकरण नभएका प्रतिनिधिहरुकालाई अधिवेसनमा समावेस गराउन नसकिने निर्णय बैठकले गरेको छ ।