तुलसीपुर, ३१ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामुदायिक विद्यालयको शिक्षा सुधार्नका लागि विशेष अभियान आरम्भ गरेका छन् । उनले विभिन्न वडामा गएर जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरेर शिक्षा सुधारको पहल गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ बाट मेयर पाण्डेले अभियानको आरम्भ गरेका हुन् । वडामा रहेका सामुदायिक विद्यालयसँग सम्वन्धित व्यक्तिहरुसँग छलफल गरेर त्यहाँका समस्याको वारेमा छलफल गरेका हुन् । धारापानी प्राविका कुलराज न्यौपानेले विद्यालयमा विपन्न वर्गका विद्यार्थीहरु धेरै पढ्ने भएकाले पोशाकको समस्या रहेको वताए । उनले भौगोलिक रुपमा विकट विद्यालय भएकाले विद्यार्थी सँंख्या न्यून भएको वताए । जनचेतना प्रावि गैरासिउँरेकी नामकली योगीले विद्यार्थी संख्या वढाउनका लागि आवासको सुविधा हुनुपर्ने माग गरिन् । ‘विद्यालय आउनका लागि दुई घण्टासम्म लाग्छ विद्यार्थीहरु आउनै मान्दैनन्’योगीले भनिन् । उनले दरबन्दी समेत कम भएकाले विद्यालय सञ्चालन गर्न जटिल भएको वताईन् ।
सृजनशिल आधारभुत माविका प्रधानाध्यापक नारायण भण्डारीले विद्यालयले निरन्तर वार्षिक योजना वनाएर काम गरिरहेको वताए । उनले सामुदायिक विद्यालयहरुले अस्वस्थ प्रतिष्पर्धा गरेका कारण सामुदायिक विद्यालयमा समस्या आएको समेत वताए । पछिल्लो समय अभिभावकले चासो दिएका कारण पनि विद्यालय सुधारको वाटोमा अगाडि वढेको उनले वताए ।
कार्यक्रममा टिचफर नेपालका कृष्ण केसीले सामुदायिक विद्यालयका समस्याहरुलाई समुदायले नै समाधानको पहल गर्नुपर्ने वताए । तुलसीपुर उपमहानगर शिक्षा शाखा प्रमुख भाष्कर गौतमले विद्यार्थीसंँख्या कम भएको विद्यालयमा वहुकक्षा शिक्षण गर्नुपर्ने वताए । प्रावि तहका विद्यार्थीहरुलाई आधाघण्टा भन्दा वढि हिडाउन नहुने गौतमले वताए । उनले विद्यार्थीहरुलाई टाढा टाढा सम्म हिड्न नपरोस् भनेर एकीकृत वस्तिको विकासमा ध्यान दिनुपर्ने समेत वताए ।