रुकुम, १९ बैशाख । रुकुमका यार्सागुम्बा पाइने क्षेत्रमा युवा परिचालन गरिएको छ । पूर्वी रुकुमको साविकको रन्मामैकोट गाविसका पुपाल, पुर्वाङखोला, अर्विजा, भित्रखोला, फूलबारी, घोराहँ, जङ्गला थाङ्गेर तकसेरा गाविसका रामाजीमा र तारावाङमा युवा परिचालन गरिएको हो ।
गत बर्ष यार्सा उत्पादनमा कमी आए पनि यस वर्ष यार्सागुम्बाको उत्पादन बढ्ने स्थानीयले बताएका छन् । विशेषगरी समयमै पानी तथा हिमालमा हिउँ परेका कारण उत्पादन बढ्ने अनुमान गरिएको हो । जिल्लामा जलवायु परिवर्तनसँगै मानवीय चाप बढ्दै जाँदा यार्सा कालो हुँदै गएको स्थानीयको भनाइ छ । गतवर्ष यार्सा उत्पादनसँगै मूल्यमा समेत कमी आएको थियो । गतवर्ष प्रतिकेजी ६ लाखदेखि १५ लाख रुपैयाँमा यार्सागुम्बाको मूल्यमा कारोबार गरिएको थियो ।