Indrenionline.com

इट्टा व्यवसायीको प्रदेश भेला सम्पन्न

दाङ, ५ बैशाख । पाँच नं. प्रदेशका इट्टा व्यवसायीहरुको भेला घोराहीमा सम्पन्न भएको छ । दाङ देउखुरी इट्टा व्यवसायी संघको आयोजना भएको भेलामा बोल्ने बक्ताहरुले राज्यले इट्टा व्यवसायीहरुको गुनासो सम्वोधन गर्न नसकेको गुनासो गरेका थिए ।

इट्टा व्यवसायी संघ दाङका अध्यक्ष रोम वलीको अध्यक्षतामा भएको भेलाको उद्घाटन प्रदेश नं. ५ का अध्यक्ष थानेश्वर घिमिरेले गर्नुभएको थियो । विश्वराज आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घिमिरेले राज्यलाई नियमपूर्वक कर तिर्ने उद्योगलाई सौतेलो व्यवहार गरिरहेको बताउनुभयो । उहाँले इट्टा व्यवसायीहरुको मागको सुनुवाई गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. ५ का महासचिव रुकबहादुर भुषाल, सचिव अजय अधिकारी, कोषाध्यक्ष प्रेमनाथ योगी, सदस्यहरु बाबुराम सुवेदी, बसन्त कुवर, सुरेन्द्र बुढा लगायतले बोल्नुभएको थियो ।

यसैगरी विभिन्न जिल्लाबाट आएका अध्यक्षहरुले पनि इट्टा व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा जानकारी गराउनुभएको थियो । घर तथा भवन निर्माणका लागि आवश्यक पर्ने इट्टा उत्पादन गरेर इट्टा व्यवसायीले राज्यका लागि पनि ठूलो योगदान गरेको भन्दै बक्ताहरुले राज्यले इट्टा व्यवसायीलाई सौतेलो व्यवहार गरेको बताएका थिए । भेलामा प्रदेश नंं ५ का सवैजसो जिल्लाका इट्टा व्यवसायीहरुको सभागिता रहेको थियो ।

यसैबीच इट्टा व्यवसायी समिति दाङको बैठक पनि बसेको छ । जिल्ला अध्यक्ष रोम वलीको अध्यक्षतामा बसेको बैठकले दाङ जिल्लामा इट्टा व्यवसायीले भोग्दै आएको समस्या र समाधानका उपायका बारेमा छलफल गरेको थियो । बैठकमा इट्टा व्यवसायी प्रदेश नं. ५ का अध्यक्ष थानेश्वर घिमिरे, केन्द्रीय सदस्य पूर्ण अधिकारी लगायतले बोल्नुभएको थियो ।

बैठकमा आएका समस्या र निश्कर्षहरुलाई प्रदेशको बैठकमा लगेर कार्ययोजना बनाएर छलफल गर्ने निर्णय भएको दाङ देउखुरी इट्टा उद्योग व्यवासायी संघका अध्यक्ष रोम ओलीले जानकारी दिनुभयो ।