तुलसीपुर, ४ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का ९४ वर्षिय छविलाल रेग्मी आइतवार उपमहानगरपालिकाको कार्यालयमा नातिको सहारामा देखिए ।
तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गर्न सुरु गरेपछि ज्येष्ठ नागरिकहरु खुसी भएका छन् । ज्येष्ठ नागरिकहरुलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्नका लागि परिचय पत्र वितरण कार्य सुर गरिएको नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले ज्येष्ठ नागरिकको सामाजिक दायित्वलाई मनन गरेर यस्तो कार्यको आरम्भ गरिएको पनि वताए ।
आइतवार पहिलो पटक १० जनाले परिचय पत्र वनाएको उपमहानगरपालिकाका पञ्जिकाधिकारी धु्रवराज रेग्मीले वताए । उनले वडा अथवा उपमहानगरपालिकामा निवेदन दिएर तत्काल ज्येष्ठ नागरिक कार्ड लिन सकिने समेत वताए । ज्येष्ठ नागरिक कार्ड पाएकाहरुले सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा पाउने व्यवस्था सरकारले गरेको छ ।
ज्येष्ठ नागरिक परिचय पत्र वितरण निर्देशिका २०७४ वमोजिम सरकारले ज्येष्ठ नागरिकहरुलाई सत्तरी वर्ष पुरा नगरेकालाई ज्येष्ठ नागरिक, सत्तरी वर्ष पुरा गरेकालाई वरिष्ठ ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिकका रुपमा वर्गिकरण गरेको छ । ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास भएकाले स्थानीय तहले उनीहरुलाई सम्मान गर्नुपर्ने नगरप्रमुख पाण्डेले वताए ।