Indrenionline.com

‘मन्दिर परिसरमा फोहर नर्गनु’- मेयर चौधरी

घोराही, २ चैत्र । घोराही उपमहानगरपालिकाले जारी राखेको पाक्षिक सरसफाई अभियान अन्तरगत विहिबार अम्बिकेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । घोराही उपमहानगरपालिका १८ अम्बापुरमा रहेको प्रशिद्ध धार्मीक स्थल अम्बिकेश्वरी मन्दिर र आसपासमा सरसफाई गरिएको हो ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १९ का अध्यक्ष हर्क घर्ती, उपमहानगरका कर्मचारी र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेल सहितका पदाधिकारीहरु सरसफाई अभियानमा सहभागि बन्नुभएको हो ।

मन्दिर परिसर सफा रहेपछि मन्दिरको पूर्व उत्तर तर्फको भोज स्थलमा अत्यधिक फोहोर रहेको पाईएको छ । विबाह तथा अन्य भोजका क्रममा गरिएको फोहोरहरुको उचित व्यवस्थापन नभएको पाईएपछि सरसफाई अभियानलाई आज त्यहाँ केन्द्रीत गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले बताउनुभयो ।

सो क्षेत्रमा गल्ने र नगल्ने फोहोरहरु एकै ठाउँमा यत्रतत्र फालिएको र उचित व्यवस्थापन नभएको पाईएपछि तत्काल उचित व्यवस्थापन गर्न नगर प्रमुख चौधरीले समितिलाई निर्देशन दिनुभएको छ ।

साथै मन्दिर परिसरमा मदिरा र धुम्रपानलाई पूर्णरुपमा नियन्त्रण गर्न पनि समितिलाई आग्रह गर्नुभयो । पवित्र तिर्थ स्थलहरुलाई सफा सुग्घर बनाउनु पर्ने भन्दै उहाँले थोरै लगानीमा धेरै राम्रो गर्न सकिने बताउनुभयो ।