Indrenionline.com

कक्षा आठको परीक्षामा बजेटको समस्या

उदय बीसी
दाङ , २२ फागुन । यसअघि जिल्ला स्तरमा हुँदै आएको कक्षा ८ को परीक्षा यस वर्षदेखि स्थानीय तहमा हुँदैछ । जसका लागि दाङका स्थानीय निकायहरुले चैत्रमा सम्पन्न गर्ने गरी समयतालिका समेत सार्वजनिक गरिसकेका छन् ।

परीक्षाका लागि स्थानीय तहका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकास्तरमा शिक्षा शाखाहरुले तयारी समेत अगाडि वढाइसकेका छन् । तर अहिलेसम्म परीक्षा सञ्चालनका लागि आवश्यक बजेट सम्बन्धित तहसम्म पुगेको छैन ।

 

शिक्षा कार्यालयको नाममा अख्तियारी आइसकेको बजेटलाई पुनः स्थानीय तहमा पठाउनका लागि शिक्षा मन्त्रालयले पहिले दिएको अख्तियारी खारेज गरेर मन्त्रालयको अर्थशाखाबाट सम्बन्धीत केन्द्रीय मन्त्रालयमार्फत सम्बन्धित स्थानीय तहमा पठाउनुपर्ने हुन्छ । 

 

समयमा बजेट नपुग्दा परीक्षाको तयारीमा समस्या देखिएको सम्बिन्धत व्यक्तिहरुले बताएका छन् । कतिपय अवस्थामा नगद कारोवार गरेर परीक्षाको तयारी गर्नुपर्ने भएकाले समस्या देखिएको वंगालाचुली गाउँपालिकाअन्तर्गतको श्रीवारी स्रोत केन्द्रका विष्णुप्रसाद शर्माले बताए । ‘हाम्रो तर्फबाट गर्ने तयारी गरेका छौं बजेट अहिलेसम्म आएको छैन’, उनले भने, ‘समयमा बजेट आएन भने परीक्षा प्रभावित हुन सक्छ ।’
परीक्षा प्रश्नपत्र छाप्ने लगायका काम बाँकी भएकाले प्रेसले बजेट विना काम गर्दैनौं भनेमा परीक्षा नै रोकिने अवस्था आउन सक्ने शर्माको भनाइ छ । फागुनत्रिभै बजेट आएमा परीक्षा सञ्चालन गर्न सहज हुने समेत उनले बताए ।

त्यस्तै लमही नगरपालिका अन्तर्गतका स्रोत व्यक्ति उपेन्द्र चालिसेले बताए । ‘बजेट अहिलेसम्म आएको छैन’, उनले भने, ‘तर जसरी तसरी काम गरिरहेका छौं परीक्षाको तयारीको उत्तरार्धमा समेत हामी पुगिसकेका छौं ।’

स्थानीय तहको तर्फबाट परीक्षाका लागि खर्च गर्नुपर्ने रकम समेत नपाएको बताउदै चालिसेले परीक्षाको तयारीका लागि नगद कारोवार गर्ने ठाउँहरुमा नगरपालिकाको समन्वयमा गरिरहेको बताए । ‘शिक्षा कार्यालयबाट आउने रकम पनि आएको छैन, यता स्थानीय तहले दिने रकम पनि आएको छैन उहाँहरुले काम गर्नुहोस् हामी दिन्छौं भनिरहनुभएको छ’, उनले भने ।

यता जिल्ला शिक्षा कार्यालयले पनि मुलुक संघीयतामा गइसकेको र जिल्लास्तरीय परीक्षाको जिम्मा स्थानीय तहलाई दिइसकेको अवस्थामा त्यही अनुसार प्रक्रिया पु¥याएर मात्रै बजेट स्थानीय निकायमा जाने जनाएको छ । जिल्लाका विद्यालयहरुले कक्षा ८ को विद्यार्थी संख्या पठाइ सकेको र यसकै आधारमा रकम बाँडफाँट हुने भन्दै त्यसका लागि शिक्षा मन्त्रालयमा पत्र पठाइसकेको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताए । ‘हाम्रो कार्यालयको अख्तियारीमा आएको रकम हामीले सिधै स्थानीय निकायमा अख्तियारी पठाउन मिल्दैन’, उनले भने, ‘प्रmित्रया पु¥याएर स्थानीय तहमा बजेट पठाइदिन अनुरोध गर्दै मन्त्रालयमा पत्र पठाइसकेका छौं ।’

शिक्षा कार्यालयको नाममा अख्तियारी आइसकेको बजेटलाई पुनः स्थानीय तहमा पठाउनका लागि शिक्षा मन्त्रालयले पहिले दिएको अख्तियारी खारेज गरेर मन्त्रालयको अर्थशाखाबाट सम्बन्धीत केन्द्रीय मन्त्रालयमार्फत सम्बन्धित स्थानीय तहमा पठाउनुपर्ने हुन्छ । स्थानीय तहमा शिक्षाको बजेट पठाउन प्रक्रिया केही लामो भएकाले पनि ढिलै भएपनि बजेट स्थानीय तहसम्म पुग्ने मैनालीले विश्वास व्यक्त गरे । यस वर्ष परीक्षा सञ्चालनका लागि २० लाख बजेट आएकोमा त्यमध्ये १५ लाखको अख्तियारी आएको जिशिअ मैनालीले जानकारी दिए ।

यस वर्ष परीक्षाका लागिसामुदायिक विद्यालयहरुले शुल्क उठाउन पाउने छैनन् । नीजि विद्यालयहरुले शुल्क उठाएर परीक्षा गराउन सक्ने र केही समस्या सामुदायिक विद्यालयलाई पर्ने देखिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कक्षा ८ को परीक्षा स्थानीय तहले नै सञ्चालन गर्नुपन आधारभुत तहको परीक्षा सञ्चालन, अनुगमन, तथा व्यवस्थापन स्थानीय तहवाटै हुनुपर्ने उल्लेख छ ।