इन्द्रेणी संवाददाता
दाङ, १४ फागुन । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले मुलुक संघीयता कार्यान्वयनमा लागेको र अब स्थानीय तहमै सञ्चार नीति निर्माण हुने भन्दै पत्रकार महासंघसँग समन्वय गरेर मात्रै सञ्चार नीति बनाउनस्थानीय निकायहरुलाई आग्रह गरेका छन् ।
उपाध्यक्ष पोख्रेलले पत्रकार महासंघले नै आम सञ्चार नीतिसँग नवाझिने गरी आम सञ्चार नीति बनाउन लागेको जानकारी दिदै त्यसको ड्राफट केन्द्रीय, प्रदेश र स्थानीय सरकारलाई वुझाउने बताए । उनले महासंघ त्यसको गृहकार्य गरिरहेकाले सञ्चार नीति बनाउन हतार नगर्न स्थानीय निकायहरुलाई आग्रह गरे ।
उनले पत्रकारहरुमाथि पछिल्लो समयमा विभिन्न लान्छना लाग्ने गरेको भन्दै आफ्नो कर्ताव्यनिष्ठ, जिम्मेवारी पूर्वक र आचारसंहितामा रहेर पत्रकारिताको धर्म निर्वाह गर्न सबै पत्रकारलाई अनुरोध गरे । साथै उनले पत्रकार महासंघका सदस्यहरु कति सही र कति गलत भन्ने विषयमा महासंघले नै छानविन गर्ने भन्दै अनावश्यक रुपमा लान्छना लगाउने अधिकार नभएको बताए ।
कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्माले दाङको पत्रकारितामा केही समस्या देखिएको र खुलेआम केही तत्वले पत्रकारलाई घुस दिएका हौं भन्ने जस्ता हर्कत देखाएको भन्दै घुस दिने र लिनेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
कार्यक्रमका अध्यक्ष पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले यही महिनाभित्र पत्रकार महासंघ पत्रकार शुद्धिकरणलगायतका विभिन्न योजना बनाएर अघि वढ्ने जानकारी दिए । कार्यक्रममा महासंघका सल्लाहकार केवि मसाल, सुदीप गौतम, सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, शरद अधिकारीलगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।