Indrenionline.com

व्यवस्थित शहर अभियान : अटेर गर्ने व्यापारीका ठेला जफत

इन्द्रेणी संवाददाता
तुलसीपुर (दाङ), १३ फागुन । पटक पटक भन्दा पनि अटेर गर्ने ठेला व्यवसायीहरुको ठेला तुलसीपुर उपमहानगरले जफत गरेको छ । पटक पटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेर अव्यवस्थि रुपमा सडकमा राखिएका ६ वटा ठेला आइतवार जफत गरेको उपमहानगरपालिकाका वित्तिय अधिकृत ललित घर्तीले जानकारी दिए ।

उनले नगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेर वाटो नै अवरोध हुने गरि ठेला राख्नेहरुको ठेला जफत गरेको समेत वताए । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई व्यवस्थित गर्नका लागि वजार व्यवस्थापन कार्यविधि निर्माण गरेर काम गर्दै आएको छ । आइतवार ठेला जफत गर्ने क्रममा कर्मचारीमाथि हातपात समेत भएको छ । उपमहानगरपालिकाका स्वीपर रामप्रसाद चौधरी माथि स्थानीय व्यापारीले हातपात गरेका थिए ।

तुलसीपुर वजारलाई व्यवस्थित वनाउनका लागि उपमहानगरले निरन्तर सार्वजनिक सूचना जारी गर्दै आएको भएपनि त्यसलाई कतिपयले अटेर गर्दै आएका छन् । उपमहानगरले वाटोमा राखिएका सामान र भ¥याङ हटाउन समेत निर्देशन दिइसकेको छ । ‘कतिपयले अटेर गरिरहेका छन् ,अटेर गर्नेलाई हामीले कारबाहीका साथै भत्काउने कामलाई तिव्रता दिनेछौ’ प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रवहादुर केसीले वताए । उनले नगरपालिकाले तोके विपरित ठाउँ ओगटेर जुनसुकै काम गरेको भएपनि त्यसलाई तत्काल हटाउन समेत आग्रह गरेका छन् ।