Indrenionline.com

आज घरघरमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदै

इन्द्रेणी संवाददाता
दाङ, १३ फागुन । दाङमा आज घरघरमा पुगेर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदैछ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएका कर्मचारहिरुले आज र भोलि घरघरमा गएर हात्तीपाइलेको औषधि खुवाउने छन् ।

जिल्लामा आठौं चरणमा हात्तीपाइले रोगविरुद्धको अभियानका रुपमा शुरु यो कायक्तममा दुई हजार चार सय स्वयमसेवक र तीन सय ५७ जना स्वास्थ्यकर्मी खटाइने जनस्वास्थ्य अधिकृत घनश्याम पोख्रेलले बताए । यो अभियान शनिवारदेखि शुरु भएको हो । शनिवार स्वास्थ्यकर्मीहरुले आफ्नो पायक पर्ने स्थानमा रहेर औषधि खुवाएका थिए । ६ वर्षका लागि सञ्चालन हुने उक्त अभियान दाङमा हात्तीपाइले रोग निवारण नभएकाले दुई वर्ष फेरि थप गरिएको हो ।

जिल्लामा अभियान शुरु भएको पहिलो चरणको सर्भेमा करीव ३० प्रतिशतमा हात्तीपाइलेको संक्रमण भएको पाइएको थियो भने अभियान सञ्चालन भएको ६ वर्षको सर्भेमा त्यो तथ्याङ घटेर १२ प्रतिशत भएको पाइएको थियो ।

केही महिना पहिलेमात्रै भएको सर्भेमा ६ प्रतिशत अझै रोग निवारण हुँना बाँकी रहेको देखिएको थियो । विश्वस्वास्थ्य संगठनका अनुसार कुनै पनि ठाउँमा २ प्रतिशतभन्दा कम रोग देखिएमा त्यसलाई हात्तीपाइले रोग निवारण भएको मानिन्छ । यो औषधि २ उमेर पुगेका व्यक्तिहरुले सेवन गर्न सकिन्छ भने गर्ववती महिला तथा दिर्घ रोगीले सेवन गर्न हुँदैन ।