Indrenionline.com

मामा भाञ्जा कन्ट्रक्सन र पत्रकार आचार्यको विवादमा पत्रकार महासंघले यस्तो निर्णय ग¥यो

इन्द्रेणी संवाददाता
दाङ, ११ फागुन । मामा भाञ्जा निर्माण कम्पनी र पत्रकार गणेश आचार्यबीच समाचारलगायतका केही विषयमा चुलिदै गएको विवादमा पत्रकार महासंघ दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ दाङले यसैसन्दर्भमा आज शुक्रवार आकस्मिक बैठक समेत बोलाएको छ । बैठकले यस्ता निर्णय गरेको छ ।

बैठकपछि महासंघले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :–

नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरुको छाता संगठन हो । पत्रकारहरुको हक, हित र अधिकारका पक्षमा आवाज उठाउनुका साथै पत्रकारिताको मूल्यमान्यता, आचारसंहिता र नैतिकतामा रहेर पत्रकारितालाई आवाजविहीनहरुको आवाज बनाउनेतर्फ हामी प्रतिबद्ध छौं ।
यसै सन्दर्भमा दाङको पत्रकारितासँग जोडिएर आएका केही घटनाहरुलाई लिएर नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

१. विगत केही दिनयता पत्रकार गणेश आचार्य र निर्माण कम्पनी मामा भाञ्जा निर्माण सेवाबीच समाचारलगायत अन्य विषयमा देखिएको विवादबारे नेपाल पत्रकार महासंघ दाङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२. उक्त विवादबारे निर्णय गर्न थप अध्ययन आवश्यक भएकाले घटनाक्रमबारे वस्तुनिष्ठ अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुदीप गौतम र पूर्व अध्यक्ष केएल पीडित सदस्य रहेको छानविन समिति गठन गरिएको छ ।

३. छानविन समितिलाई आवश्यक सहयोग गर्न विवादसँग सम्बन्धित पक्ष तथा सरोकारवाला सबैलाई महासंघ हार्दिक अपील गर्दछ ।

सविन प्रियासन
अध्यक्ष, नेपाल पत्रकार महासंघ दाङशाखा