मकवानपुर, ७ फागुन । यो हो मकवानपुर, कुन्छाल गाउँ । मकवानपुरको थाहा नगरपालिका–१ कुन्छाल गाउँ पर्यटकिय र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण थलो हो । कुन्छाल गाउँलार्इं पर्यटकिय गन्तव्य बनाउने सरोकारवालाहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।
‘विश्व पर्यटन दिवसको अवसरमा हामीले कुन्छाल गाउँलाई पर्यटन गन्तव्यको रुपमा घोषणा गरेका हौँ । यहाँको ईतिहास र संस्कृति हो । यो काठमाडौंबाट चन्द्रागीरि नजिकै रहेको होमस्टे ट्रेकिङको संभावना बोकेको क्षेत्र हो,’ उनले भने,‘गोपालीहरुको ऐतिहासिक बस्ती, यहाँको एकरुपता पूर्वक लगाईएका घरमा छानो यहाँको विशेषता रहेछ । एक हिसाबले भन्ने हो भने यहाँ समाजवादको पूर्वाभ्यास भएको देखिन्छ ।’
होमस्टेका लागि ठूलो लगानी गर्नु नपर्ने बताउँदै उनले आफूसँग जे छ त्यही सफा पूर्वक पर्यटकलाई खुवाउँदा पर्यटक आकर्षित हुने र प्रसस्त आम्दानी गर्न सकिने सापकोटाले बताए ।
‘होमस्टे भनेको घरमै बसेर डलर कमाउने सवर्ण अवसर हो । यहाँ पनि यो अवसरको शुरुवात भएको छ । यो गाउँलाई पर्यटकीय गाउँ बनाउन पहल गरौँ । विस्तारै पर्यटकीय गाउँ बन्नसक्छ,’ उनले भने,‘नेपालमा सगरमाथा र बुद्धको माध्यमबाट मात्रै होइन अन्य माध्यमबाट पनि पर्यटक आकर्षण गर्न सकिन्छ । पर्यटनको माध्यमबाट नै जीवनस्तर उकास्न सकिन्छ । पर्यटनमा छिटो लगानी गर्नुस् । भोली नाम्चे गाउँ र जस्तै कुन्छाल गाउँ हुनेछ ।’
होमस्टेका लागि पूर्वाधार विकासको तालिम दिनुपर्ने भन्दै उनले पर्यटन बोर्ड, टान लगायत पर्यटन सम्बद्ध संस्थाले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
त्यस्तै दाहालले आफू नेतृत्वको टानले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । थाहा नगरपालिकाका मेयर लभेश्वर विष्टले आफूहरुले पर्यटनलाई थाहा नगरपालिकाको प्रमुख आधारको रुपमा विकास गर्ने बताए । ‘कृषि पर्यटन र पूर्वाधार थाहा नगरको पूर्वाधार भन्ने हाम्रो नगरपालीकाको नारा नै छ,’ उनले भने,‘प्रचार प्रसारको कमीले कुन्छाल गाउँ पछाडी परेको हो ।’ उनले राजधानी काठमाडौंको उकुशमुकुशपूर्ण जीवन विताइरहेकाहरुलाई एक दिन कुन्छाल र चित्लाङ ल्याउन सकिने बताए ।
‘काठमाडौं भित्र उकुशमुकुश छ । एक घण्टा मात्रै बाहिर निस्कन पाउने ठाउँ छैन । यदि काठमाडौं चित्लाङको बाटो बन्यो भने एक घण्टामा हामी काठमाडौंबाट यहाँ आईपुग्छौँ,’ उनले भने,‘हामी एक वर्ष भित्र यसलाई कुन्छाललाई पर्यटकीय गाउँ बनाउने छौँ । होमस्टेमा हामी बजेट खर्च गर्छौं । यो मेरो दायीत्व हो ।’
पर्यटन बोर्डका सिनियर निर्देशक मणि लामिछानेले कुन्छाल गाउँलाई बोर्डले सन् २०११ देखि पर्यटकीय गन्तव्यको रुपमा अघि सारेको बताए ।
उनले थाहानगरपालिकाको उत्तरी क्षेत्र रहेकाले चित्लाङमा आउने पर्यटक कुन्छाल गाउँ अवश्य आउने बताउँदै होमस्टे ट्रेकिङ ट्रेल संभावना औँल्याए । थाहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष हेरमान गोपालीले आफूृ खेलेको हुर्केको ठाउँमा पर्यटकीय गन्तव्य बनाउने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताए । उनले कुन्छाल गाउँको विशेष परम्परा र संस्कृति रहेकाले ढुक्क भएर पर्यटक पठाउन पर्यटन व्यावसायीलाई आग्रह गरे ।
कुन्छाल गाउँ होमस्टे समितिका अध्यक्ष सानुकाजी गोपालीले कुन्छाल गाउँमा तरकारी खेती हुने र गाउँमै बचार रहेको बताए । गोपालीहरुको मौलिक परम्परामा पर्यटक रमाउने उनको विश्वास थियो । विश्व पर्यटन दिवसको अवसरमा सन् २०१८ को पर्यटकीय गाउँको रुपमा घोषणा भएको कुन्छाल गाउँमा करिब २ सय परिवार गोपालीहरु बसोबास छ । गोपालीहरुको आफ्नै भाषा र मौलिकता रहेको छ । कुन्छाल गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफको टोली शनिबार कुन्छाल गाउँ पुगेको थियो ।