Indrenionline.com

घोराहीमा आजदेखि महोत्सव, घोराही उपमहानगरको साढे ५ लाख सहयोग

इन्द्रेणी संवाददाता
घोराही, ३ फागुन । दाङको घोराहीमा आजदेखि सञ्चालन हुन लागेको प्रदेशस्तरीय व्यापारिक तथा पर्यटन महोत्सवलाई घोराही उपमहानगरपालिकाले ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ लाई सहयोग माग भए बमोजिम उपमहानगरको कार्यपालिका बैठकले ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले उपमहानगरको सेवा प्रवाहलाई सरल एवं आम नागरिकको पहुँचयोग्य बनाउन घर नक्सा पास र बालमैत्री स्थानीय शासन संचालन कार्यविधी पारित भएको छ ।

बैठकले घोराही उपमहानगरपालिकाबाट प्रवाह गरिने सूचनालाई व्यवस्थितरुपमा प्रवाह गर्न तथा स्थानीय संचार माध्यमको विकास एवं प्रवर्द्धनका लागि उपमहानगरपालिकाबाट सूचना प्रवाह गर्ने क्रममा स्थानीय संचार माध्यमलाई प्राथमिकतामा राखी सूचना प्रवाह गर्ने निर्णय भएको प्रबक्ता भरत अर्यालले जानकारी दिए ।

यसैगरी घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा संचालनमा रहेका टेम्पो तथा इ रिक्साहरुको रुट अनुसारको दर रेट, दर्ता शुल्क तथा रुट परमिट शुल्क निर्धारण गर्न उप प्रमुख संयोजक रहेको ९ सदस्यीय अध्ययन समिति गठन भएको छ । समितिको सदस्यहरुमा वडा नम्बर ५, १०, १४, १५, १६ र १८ का अध्यक्ष, कार्यपालिका सदस्य धनबहादुर कुसुन्डा र सामान्य प्रशासन महाशाखाका प्रमुख सदस्य सचिब रहनुभएको छ ।

त्यसैगरी, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालबाट पेश भएको प्रदेश स्तरीय महिला मंचको सम्मेलन तुलसीपुरमा आयोजना गर्नका लागि सहयोग माग भए बमोजिम एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत भएको छ ।