Indrenionline.com

गाउँदेखि शहरसम्म माघीको चहलपहल

सन्तोष दहित
दाङ । थारु समुदायको महान पर्व माघी नजिकैगर्दा गाउँदेखि शहरसम्म माघी चहलपहल बढ्दै छ । माघी आउन करिब एक हप्ता बाँकी भएपनि गाउँदेखि शहरसम्म माघी महोत्सवको तयारी भइरहेकोछ । कतै माघी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने कतै माघी महोत्सव । खासगरि थारु समुदायको बाहुल्य रहेको जिल्लामा माघीको चहलपहल बढिरहेको छ ।

दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चपुर लगायत काठमाण्डौ सहित करिब २२ जिल्लामा माघी महोत्सव आयोजना गरिएको छ । हरेक वर्ष थारु कल्याणकारिणी सभाको आयोजनामा राजधानीमा राष्ट्रिय रुपमा माघी महोत्सव हुदै आएको छ भने यता जिल्ला–जिल्लामा थारु कल्याणकारिणी सभा लगायत विभिन्न क्लवहरुले माघी विशेष कार्यक्रम गर्दै माघी मनाउदै आइरहेकाछन् । यसैविच दाङमा पनि विभिन्न ठाउँमा माघी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अहिले थारु गाउँ गाउँमा कतै माघी मिलन त कतै माघी विशेष साँस्कृतिक कार्यक्रम भइरहेको छ ।

नमूना भुह्यार थान (ठन्वा) तुलसीपुरको आयोजनामा यहि पौष २३ गते तुलसीपुर उपमहानगरपालिका स्तरिय माघी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नमूना भुह्यार थान (ठन्वा)का अध्यक्ष रामशरण चौधरीका अनुसार तुलसीपुर उपमहानगरपालिका स्तरिय माघी विशेष साँस्कृतिक कार्यक्रम तुलसीपुर उपमहानगरपालिका ६, जवरपुरमा राखिएको छ । जसको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री कृष्णबहादुर महराले गर्ने कार्यक्रम रहेको सस्थाको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार विशिष्ट आतिथिमा श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी, थारु सांसद मेटमणी चौधरी, इन्द्रजीत थारु, धम्कली चौधरी लगायत नेताहरुको उपस्थिति रहने छ । त्यसैगरी हमार दंगीशरण क्लवको आयोजनामा पुस २७ र २८ गते दंगीशरण गाउँपालिका– ३, हेकुलीमा पनि गाउँपालिका स्तरिय माघी विशेष साँस्कृतिक कार्यक्रम भइरहेको छ । त्यसैगरी माघी विशेष साँस्कृति कार्यक्रम दाङका राप्ती गाउँपालिका, गढव गाउँपालिका लगायत विभिन्न ठाउँमा माघी साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थारु कलाकार संघका अध्यक्ष शालिकराम चौधरीले जानकारी दिनुभएको छ ।

त्यसैगरी थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा दर्जनौं थारु संघसस्थाको सहआयोजनामा यहि पौष २८ गते दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव–२०७४ आयोजना गरिएको छ । माघी महोत्सवमा नेकपा एमालेका स्थाययी कमिटिका सदस्य एवम् पुर्व सञ्चारमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीका अनुसार विशिष्ट अतिथीमा थारु सांसद मेटमणी चौधरी, शान्ता चौधरी, डिल्लीबहादुर चौधरी, इन्द्रजीत थारु, धम्कली चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी लगायत विभिन्न पार्टीका नेताहरुको उपस्थिति रहने छ ।

त्यसैगरी माघी महोत्सवममा ४ दर्जन भन्दा धेरै थारु मघौटा नाचको प्रतियोगिता गरिने महोत्सव मुल आयोजक समितिका सदस्य केवि चौधरीले जानकारी दिनुभयो । उहाँको अनुसार थारु परिकार, थारु गरगहना लगायतको प्रर्दशनी गर्ने कार्यक्रम रहेको छ ।