घोराही, २३ पुस । दाङको घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको निति कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कृषि शाखाबाट संचालित अनुदान कार्यक्रमका लागि परेका निबेदनको मूल्यांकन गरि छनौट गर्न आर्थिक समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा कार्यपालिका सदस्य माया रावत, वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरी र कृषि शाखाका प्रमुख भरत पोख्रेल सदस्य सचिव रहनुभएको छ । साथै बैठकले वडा नम्बर २ रामपुरमा रहेको स्वास्थ्य चौकीको स्तरबृद्धी गरि शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्ने निर्णय गरेको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिएका छन् ।