दाङ, १६ असार– घोराही उपमहानगरपालिका र हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालको आयोजनामा घोराहीमा बालश्रम न्यूनिकरण तथा बालसंरक्षण कार्यक्रमको प्रगती समिक्षा बैठक सम्पन्न भएको छ । हिप्डेकका अध्यक्ष विकिरण गौतमको अध्यक्षता र उपमहानगरपालिकाकी उपप्रमुख सिता न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीन महिनाको अवधीमा बालसंरक्षणमा भएका गतिबिधिहरुको समिक्षा गरिएको थियो ।
कार्यक्रममा हिप्डेकले घोराहीका ३ सय ३ घर परिवारका ४ सय ८६ बालबालिकामा गरेको सर्वेक्षणको प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । सर्वेक्षणमा ४ सय ९ बालबालिका बिद्यालय गएको र ७७ जना नगएको पाइएको केसीले जानकारी दिए । यसैगरी ५३ जना बालबालिकाले ३५ दिनभित्र जन्मदर्ता गराएको, ३ सय ८ जनाले ५ बर्षभित्र जन्मदर्ता गराएको र ८५ जनाले जन्मदर्ता नै नगराएको भेटिएको हिप्डेकले जानकारी दिएको छ ।
अभिभावक जिम्मेवार नहुँदा बालसंरक्षणमा समस्या भएकाले अब अभिभावकलाई पनि शिक्षा दिने कार्यक्रम तय गरिने उपमहानगरपालिकाका उपप्रमुख न्यौपानेले बताए । बालश्रम, बालविवाह, बालहिंशा जस्ता समस्या न्यूनिकरण गरी बालमैत्री उपमहानगरपालिका बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । हिप्डेकका अध्यक्ष गौतमले बालश्रम न्यूनिकरणमा अभिभावकको लापरवाही मुख्य समस्या रहेको जानकारी दिएका थिए । अब कानून विपरित बालश्रमिक राख्ने र पठाउनेलाई दण्डित नगर्दासम्म बालश्रममा कमी ल्याउन कठिन हुने उनले बताए ।
समिक्षा बैठकमा उद्धार भएका बालश्रमिकलाई आर्थिक अभावका कारण पठनपाठनमा समस्या भैरहेको निष्कर्षसहित अब उपमहानगरपालिकाको शिक्षा महाशाखामार्फत सम्बन्धित बिद्यालयलाई पत्र लेखी निशुल्क पठनपाठनको व्यवस्था मिलाउने निर्णय भएको छ ।
बालश्रमिक राख्ने रोजगारदाताले बालश्रमिकको विवरण नदिने गरेकाले अब सम्पूर्ण रोजगारदाताले श्रमिकहरुको सम्पूर्ण विवरण अनिवार्यरुपमा राख्न सम्बन्धित व्यवसायीक संगठनमार्फत उपमहानगरपालिकाले निर्देशन दिने निर्णय भएको छ । यसैगरी उद्धार भएका बालश्रमिकलाई प्रारम्भिक चरणमा मनोसामाजिक परामर्श गर्न परामर्श सम्बन्धी काम गर्ने संस्थालाई अनुरोध गर्ने निर्णय भएको छ । दिनुभएको थियो । कार्यक्रमको सहजिकरण हिप्डेकका सदस्य शरद अधिकारीले गर्नुभएको थियो ।