दाङ १३ पुस । जिल्ला समन्वय समिति दाङले नारायणपुर क्षेत्रमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन माग गरेको छ । बुधवार बसेको समन्वय समितिको बैठकले विमान स्थल बनाउनको लागि पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको हो ।
त्यसै गरेर जिल्लाका दशै वटा स्थानीय तहका भएका कामको अनुगमन र समन्वय गर्नको लागि सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । बैठकले घोराही उपमहानगरपालिकामा लोकी कुमारी विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकामा सावित्रा रिजाल, लमही नगरपालिका र राप्ती गाउँपालिका तिलाकुमारी बुढा, शान्तिनगर र दंगीशरण गाउँपालिकामा सुभद्रा भण्डारीलाई जिम्मेवारी दिएको छ । त्यसैगरेर बैठकले खिमबहादुर घर्तीलाई बंगलाचुली, जक्तबहादुर बस्नेतलाई बबइ गाउँपालिका र देविलाल थारु कुमाललाई गढवा गाउँपालिकाको जिम्मा दिएको छ ।
त्यसैगरी विकासे कार्यालयको अनुगमन गर्नको लागि जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उप प्रमुख श्रीधर शर्मा पौडेललाई बैकठले जिम्मा दिएको छ । बैठकले जिल्लामा वनको संरक्षण र सम्र्वद्धन गर्ने कार्यहरुको योजना तथा कार्यक्रम उपलब्ध गराउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएको छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको थियो ।