तुलसीपुर, १४ मंसिर । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुरमा वम पड्किएर मृत्यु भएका विनोद चौधरीको परिवारसँग भेटघाट गरेका छन् ।
उनीहरुले परिवारको विचल्ली भएको भन्दै राहतको लागि समेत आग्रह गरेका थिए । भेटघाटका क्रममा मेयर पाण्डेले उपमहानगरपालिकाका तर्फबाट वालिकाको शिक्षा र श्रीमतिलाई रोजगारका लागि पहल गर्ने वताएका थिए । “सरकारले आफ्नो जिम्मेवारी पुरा नगरे हामीले गर्नेछौ” मेयर पाण्डेले भने ।
माओवादी केन्द्र दाङद्वारा भत्र्सना, शहीद घोषणा गर्न माग
नेकपा माओवादी केन्द्र दाङले तुलसीपुर बम आक्रमणबाट निधन भएका म्यादी प्रहरी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरेको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रले बम आक्रमणबाट निधन भएका चौधरीलाई शहीद घोषणा गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।
पार्टीका जिल्ला इन्चार्ज जीवन गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई तत्काल कार्बाही गर्न पनि माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ– निर्वाचन विथोल्ने नाममा सर्वसाधारणमाथि बम आक्रमण गर्नु कुनै पनि हिसाबले राजनीतिक हुन सक्दैन । त्यसैले यस्ता अराजनीतिक र अराजक क्रियाकलाप छोडेर राजनीतिक संस्कारमा आउन हाम्रो पार्टी सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।’
साथै विज्ञप्तीमा बम आक्रमणबाट घाइते भई उपचारको क्रममा निधन भएका तुलसीपुर–१८ का म्यादी प्रहरी विनोद चौधरीप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै उक्त घटनामा परी घाइते हुने अन्य सर्वसाधारणको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका विशेष ध्यान दिन अस्पताल तथा सम्बन्धित पक्षसँग आग्रह गरिएको छ ।
सरकारले मृतकका परिवारलाई दश लाख दिने
यसैबीच मृतक चौधरीका परिवारलाई क्षतिपुर्ति स्वरुप दश लाख रुपैया दिने निर्णय गरेको छ । बुधवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा वसेको बैठकले यस्तो निर्णय गरेको हो ।