दाङ, ३० कार्तिक । पाँच वर्षभित्रमा पश्चिम दाङलाई विकासको उचाईमा पुर्याउने गरि वाम गठवन्धन क्षेत्र नम्वर ३ ले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उज्यालो दाङ निर्माणका लागि विद्युत उत्पादन गर्नेदेखि मोनोरेल चलाउने र पुरै क्षेत्रलाई घेर्ने गरि चक्रपथ निर्माण गर्ने कुरालाई जोड दिएको छ ।
पुरै गाउँपालिकालाई घेर्ने गरेर सिटी वस सञ्चालन गर्नुका साथै सबै ठाउँलाई यातायातले जोड्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ । हरेक खेतमा सिचाइ सुविधा पुर्याउनका लागि वृहत सिचाइ योजनाको सुरुवात गर्नुका साथै गुहारखोला, पातुुखोला, वहुलाखोला, च्याठी खोलामा हाइड्याम बनाएर जल भण्डार र बहुुउद्देश्यीय परियोजना सञ्चालन गर्ने कुरालाई पनि घोषणापत्रले जोड दिएको छ ।
खानेपानीका श्रोत पहिचान गरेर हरेक घरमा धारा उपलब्ध गराउनुका साथै पानीको मुहान संरक्षण र भुजलाधार संरक्षण गर्ने कुरा उल्लेख गरिएको छ । प्राविधिक शिक्षालयको स्थापनामा जोड दिनुका साथै शिक्षाको केन्द्रका रुपमा ३ नम्वर क्षेत्रलाई विकास गर्ने लक्ष्य दिइएको छ ।
उपमहानगरपालिका र गाउँपालिकामा आधुनिक विशेषज्ञ सहितको अस्पताल सञ्चालन गर्ने कुरालाई जोड दिएको छ । औद्योगिक सम्भावनाको खोजि गर्दै युवाहरुलाई रोजगार प्रदान गर्नका लागि यस क्षेत्रलाई उद्योग ग्रामका रुपमा विकास गर्न जोड दिइने कुरामा पनि जोड दिइएको छ ।
दाङलाई प्रदेशको राजधानीका रुपमा विकास गर्नका लागि हरेक तवरले भुमिका खेल्दै यस क्षेत्रलाई समृद्ध क्षेत्र वनाउन कटिवद्ध भएर लाग्ने कुरालाई पनि घोषणा पत्रले जोड दिएको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न केवुलकार सञ्चालन,भ्यु टावर निर्माण , चमेरे गुफाको स्तरोन्नति जस्ता कुरालाई घोषणा पत्रले जोड दिएको छ ।