पाण्डव शर्मा
घोराही, २७ कार्तिक । उपप्रधानमन्त्री तथा दाङ २ नं क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महराले यसपटकको निर्वाचनमा कांग्रेसका इमान्दार कार्यकर्ताहरुले पनि आफूलाई मतदान गर्ने वताएका छन् ।
कांग्रेसका केही नेताहरु बाहेक धेरै कार्यकर्ता तथा समर्थकहरु परिवर्तन र विकास पक्षघर भएको महराको भनाई छ । वाम गठवन्धन कसै विरुद्ध नभएर समग्र मुलुकको विकास र समृद्धिका लागि भएको उनले वताए ।
‘हामी मुलुकमा तीव्र आर्थिक विकास गर्न चाहन्छौं, कांग्रेसको नेतृत्व विकास विरोधी छ,’ महराले भने– ‘आफ्नो आस्था जे भएपनि इमान्दार कांग्रेस कार्यकर्तालाई पनि विकास चाहिएको छ, त्यसैले उहाँहरुले मलाई मतदान गर्नुहुन्छ ।’
निर्वाचन पछि वामपन्थीहरुको सरकार बन्ने उल्लेख गर्दै माओवादी केन्द्रका वरिष्ठ नेता महराले प्रदेशको राजधानी दाङ बनाउन आफू कटिवद्ध भएको वताए । उनले निर्वाचन लगत्तै माओवादी केन्द्र र नेकपा एमाले वीच पार्टी एकता हुने उनले वताए ।