दाङ । करीब पौने १ अर्बको लगानीमा २०६९ मङ्सिरमा दाङको दुधरासको बर्लेनीमा स्थापना गरिएको अष्ट्रिच फार्म बजारीकरणको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । पश्चिम नेपालकै पहिलो अष्ट्रिच फार्मका रूपमा रहेको उक्त फार्ममा शुरूमा ७ सय ५० ओटा अष्ट्रिच रहेकोमा अहिले जम्मा ३६ ओटा मात्रै छन् ।
यहाँ पालन भएका अष्ट्रिचको मासु काठमाडौं, पोखरा, हेटौंडालगायत बजारमा खपत हुने गर्छ । तर, दाङमा भने अझै यसको मासुमा आकर्षण बढ्न सकेको छैन । ठूलो लगानीमा अष्ट्रिच फार्म भित्रिए पनि स्थापनाको करीब ५ वर्षमा लगानीको ८० प्रतिशत घाटा खाएको प्रबन्धक खड्काले जानकारी दिए । उनका अनुसार दाङमा अण्डा उत्पादन गर्ने र चल्ला उत्पादनका लागि भैरहवा ह्याचरीमा ढुवानी गर्दा करीब ८० प्रतिशत अण्डा खराब भएर जाने गरेका छन् । ‘यहाँ अण्डा उत्पादन हुन्छन्, चल्लाका लागि भैरहवा लैजानुपर्ने वाध्यता छ,’ उनले भने, ‘लिएका २० प्रतिशतमात्रै अण्डा काम लाग्छन्, ८० प्रतिशत खराब भएर जान्छन् ।’
अष्ट्रिच नेपालले पश्चिम नेपालमा अष्ट्रिचको व्यापार गर्ने उद्देश्यका साथ दाङलाई केन्द्रबिन्दु मानेर नेपाल संस्कृत विश्वविद्यालयको १५ बिगाहा जग्गा लिजमा लिएर फार्म खोलेको थियो । तर, ५ वर्षमा फार्म घाटामा जान लागेपछि त्यसको विकल्पका रूपमा उन्नत जातका कुखुरा पालन गर्ने सोचमा रहेको प्रबन्धक खड्काको भनाइ छ । सो फार्ममा उन्नत जातका कुखुरा पालन, कटकनाथ र अष्ट्रेलियन ‘इमो’ नामक चरा पाल्ने तयारीमा सञ्चालक पुगेका छन् ।
अष्ट्रिचको मासु मुटु, वाथ, दमलगायत दीर्घ रोगीका लागि औषधि हुने गरे पनि मासु महँगो पर्ने र मासु खाँदाका फाइदाबारे जानकारी नहुँदा दाङलगायत पश्चिम नेपालमा यसको व्यवसायीकरण र बजारीकरण हुन नसकेको सारोकारवाला बताउँछन् ।